विराटनगर । रातो तारा डट कम, पत्रकार आचारसंहितालाई राष्ट्रिय हित र दीगो शान्तिमा जोड्नु पर्ने प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ प्रदेश १ ले आज विराटनगरमा संयुक्त रुपमा आयोजित ‘पत्रकार आचासंहिता जागरण अभियान –२०७६ ’प्रदेश स्तरीय दुई दिने कार्यालय गोष्ठीको उद्घाटन गर्दै आचारसंहितालाई व्यवहारमा उतारी सञ्चारकर्मीले गुणस्तरीय, समतामूलक र समावेशी हुनुपर्नेमा जोड दिए ।
प्रमुख अधिकारीले पत्रकारहरुले दिगो औद्योगिकरण र नविन खोजमा कलम चलाउन जोड दिदै संविधानको सफल कार्यान्वयनको समाचार सम्प्रेषणवाट विश्व सञ्चार जगतको ध्यानाकृष्ण हुने बताए । उनले पत्रकारहरुले उचित र समयोजित आलोचना पद्धतिको विकास गर्नु पर्नेमा जोड दिदै जिम्मेवारी, जवाफदेहिता र स्वाभिमानसाथ आगाडि वढ्न आग्रह समेत गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारितालाई जिम्मेवार बनाउन काउन्सिल र महासंघले नयाँ आचार संहिताबारे बुझाउन देशभर जागरण अभियान सुरु गरेको जानकारी गराए ।
अध्यक्ष गोविन्द आचार्यले उद्योगीहरुका विज्ञापनले ठूला मिडिया हाउसले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडेको आरोप लगाउँदै पत्रकारले गल्ती गरेमा कालोसूचिमा राखिने व्यवस्था आचारसंहितामा रहेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईटेलले आचारसंहिताका वारे अन्य क्षेत्रमा समेत छलफलको कार्यक्रम अगाडि वढाउने वताउँदै आचारसंहिताप्रति प्रतिवद्धता जनाई व्यवसायिक पत्रकारिता गर्नु पर्नेमा जोड दिए ।
प्रशासकिय अदालतका अध्यक्ष काशिराज दाहालले पत्रकारले स्वनियम पालना गर्दै मर्यादित भएर सहि र तथ्यका आधारमा नागरिकलाई समाचार पस्किनु पर्ने बताए ।
प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाई, व्रोडकास्टिङ्ग एशोसिएशन दाङका अध्यक्ष चन्द्र न्यौपाने र पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमले पत्रकारले के गर्न हुने , के गर्न नहुने सम्वन्धमा आचारसंहितामा उल्लेख भएको जानकारी दिए ।
पत्रकारहरुलाई आचारसहितापालनप्रति जागरण गराउनु, प्रदेशमा कार्यरत पत्रकारहरुको अवस्था र आचारसंहितमा भएका कमी कमजोरी सुधारका लागि आवश्यक सुझाव संकलन गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।
प्रदेश १ का १४ जिल्ला ४० सञ्चारकर्मीहरुको जागरण अभियानमा सहभागिता रहेको छ ।
प्रदेश १ मा ११४ रेडिय, ११७ पत्रपत्रिका, पाँच टेलिभिजन, १५० अनलाईन र दुई हजार सञ्चारकर्मीहरु कार्यरत रहेका छन् ।
Post a Comment