{फायल फोटो}
झापा, चैत्र ३० गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-१२ कालीझोडामा शुक्रवार राती बोलेरो जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा राती ८ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा तत्काल पहिचान नखुलेको पैदलयात्री बर्ष अन्दाजी ७५ को पुरुष व्यक्तिलाई ठक्कर दिँदा बोलेरो जीप अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको बोलेरो जीपलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मे १ ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना समेत घाइते भई उपचारको लागि वि.एण्ड.सी. अस्पताल विर्तामोड पठाईएको थियो । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रीको उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ । दुवै सवारी साधन र मे १ ज १२०९ नम्बरको जीप चालक शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष ३९ को युवराज शंकरलाई नियन्त्रणमा राखेको छ भने २८११ नम्बरका बोलेरो चालक फरार भएकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment