काठमाण्डौ,फागुन २५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई देखाएर स्वार्थको रोटी सेक्नेका दिन अब सकिएको बताउनु भएको छ । राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच राष्ट्रियसभा गृहमा भएको सहमतिपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले असाधारण निर्णय गर्ने क्षमता आफूले सीके राउतमा देखेको बताउनुभयो ।
मुलुक समृद्धिको बाटोमा लम्केको टिप्पणी गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको सङ्ख्या घटेको तर कारबाही बढेको दावी गर्नुभयो । विप्लव नेतृत्वको नेकपाले विध्वंश मच्चाउँदै आएकोमा सरकारले सहेर नबस्ने पनि उहाँको भनाइ छ । शान्ति सुरक्षा कायम गर्नका लागि सरकारले जस्तोसुकै निर्णय लिने भन्दै प्रधानमन्त्रीले चन्दा, आतङ्क लगायतका क्रियाकपाल बन्द गरी संवाद र छलफलमा आउन पनि आग्रह गर्नुभयो ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई राजनीतिक सहमति घोषणा कार्यक्रमको नाम दिइएको थियो । कार्यक्रममा संयोजक राउतले आजको दिन दिन ऐतिहासिक भएको बताउनुभयो । आफूहरूको आन्दोलनले शान्ति र सुरक्षित रूपमा अवतरण गर्नु सबै नेपालीका लागि खुसीको कुरा भएको राउतले बताउनुभयो । आफ्नोस्तरबाट पहल गरेर निकास दिन सहयोग गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत पूर्व प्रधानमन्त्रीलाई पनि राउतले धन्यवाद दिनुभयो ।
२०५९ मा आफूहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलनको सुरुवात गरेको सम्झँदै उहाँले भन्नुभयो, ‘अरु प्रधानमन्त्रीले पनि दवाव नदिएका कारण जुनसुकै बेला बिस्फोट हुने अवस्था आएन । हामी बुद्धका सन्तान भएका कारण सबैमा शान्तिको भावना, अहिंसाको भावना कहिल्यै नहराउने गरेछ ।’ अहिंसामा विश्वास गर्ने अरु समूहका लगि पनि आफूहरूको अवतरण प्रेरणाको स्रोत बन्ने संयोजक राउतले विश्वास व्यक्त गर्नुभयो । हिजोमात्रै सर्वोच्च अदालतले सीके राउतलाई रिहा गर्न आदेश दिएको थियो । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।
राष्ट्रियसभा गृहमा हिजो भएको विशेष कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका तर्फबाट संयोजक राउतले हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूको सहभागिता थियो । सहमतिको सुरुमा नेपाल अखण्ड स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो यो नै महत्वपूर्ण कुरा हो भन्ने बुँदा छ ।
राउत र अरु कार्यकर्तालाई लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका कार्यकर्ता रिहा गर्ने, केही समयअघि प्रहरी हिरासतमै मृत्यु भएका राउतका कार्यकर्ता राममनोहर यादव परिवारलाई क्षतिपूर्ति दिने, उनका परिवारका एक जना सदस्यलाई रोजगारी दिने लगायतका सहमति सरकारसँग भएको छ । सरकारसँग भएको सहमति अनुसार राउत र उनका कार्यकर्ताले अब स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्ने छैनन् ।
Post a Comment