काठमाण्डौं,फागुन २८ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनविरोधी काम गर्दै गईरहेको आरोप लगाउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको भेलामा बोल्दै सभापति देउवाले सरकारले सीके राउतसँग सम्झौता, निर्मला हत्या काण्डको वेवास्ता, वाईडबडी जहाज खरिद प्रकरण, सुनकाण्ड जस्ता थुप्रै घटनालाई साथ दिएर जनविरोधी काम गरेको आरोप लगाउनुभएको हो ।
उहाँले सरकारले जनपक्षीय काम गरोस् भन्ने आफूहरूको चाहना रहे पनि सरकारलाई समर्थन गर्ने खालका कुनै काम हुन नसकेको बताउनुभयो । सरकारले एक वर्षे कार्यकाल केही नगरी खेर फालेको औल्याउँदै देउवाले एकवर्षमा सरकारले बारम्बार संविधान कुल्चने प्रयास गरिरहेको टिप्पणी गर्नुभयो ।
काँग्रेसको संयमलाई कमजोरी ठानियो भने सडक सङ्घर्षमा जाने उहाँको भनाइ छ । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु कुनै पनि चुनौती नभएको भन्दै सहज अवस्थामा पनि सरकारले काम गर्न नसकेको बताउनुभयो ।
शर्माले सीके राउतसँग सरकारले अमुर्त सम्झौता गरेर देश र जनतालाई धोका दिएको धारणा राख्नुभयो । वर्तमान सरकारमा कुनै पनि दृष्टीले राष्ट्रवाद नरहेको भन्दै शर्माले राष्ट्रियता सङ्कटमा परेको दावी गर्नुभयो ।
Post a Comment