मोरङ फागुन २७ गते । रातो तारा डट कम,विराटनगर नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता २८ गते मंगलबार नेकपाका अध्यक्ष प्रचण्डले उदघाटन गरे पछि विराटनगरको रंगशालामा खेल सुरु हुनेछ । साफ का महिला फुटबल खेलाडी बिराटनगरमा
आइसकेको अवस्था छ।
साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले घरेलु नेपाली टोली उच्च मनोबल सहित मैदान ओर्लंदै छ ।
सहिद रंगशालामा नेपालले सफल आयोजनाको चुनौती पनि सँगै सामना गर्दै छ । काठमाडौंबाहिर पहिलो पटक हुन लागेको अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ ।
फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्रा्ष्ट्रिय महिला फुटबल गर्ने अवसर विराटनगरले प्राप्त गरेको एन्फाका प्रवक्ता तथा साफ महिला च्याम्पियनसिपका प्रचारप्रसार संयोजक किरण राईले बताए ।
फुटबल प्रतियोगिता हेर्न आउने दर्शकलाई पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरक्षाको कारण देखाउँदै पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाएको हो ।
खेलको दौरानमा हुन सक्ने सम्भावित उत्श्रृङ्खल गतिविधि नियन्त्रणका लागि सिक्का र पानीका बोतललगायत हातले फाल्न सकिने सामाग्री मैदानमा ल्याउन रोक लगाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उनका अनुसार एन्फाले नै मैदानभित्र पानीको व्यवस्थापन गर्ने छ ।
सबै टोली विराटनगरमा :-
पहिलो पटक राजधानी बाहिर हुन लागेको अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आयोजक राष्ट्र नेपाल सहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको महिला फुटबल टोली विराटनगर आइपुगेका छन् । पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने बताएको थियो ।
प्रतियोगितामा सहभागी टिमलाई प्रशिक्षणका लागि विराटनगरको दिल्ली पब्लीक स्कुल, विराटनगर जुटमिलको खेल मैदान र दुहबीको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता राईले बताए । उनका अनुसार प्रतियोगिताको आन्तरिक तयारी पूरा भएको छ । तयारीका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख बजेट खर्च गरेका छन् ।
साफ महिला फुटबलकै लागि शहीद रंगशालामा चेन्जिङ रुम, प्लेयर्स बक्स, सहित अन्य संरचना निर्माण गरिएको छ । रंगशालाको मैदान मर्मत गरिएको छ भने प्याराफिट पनि रंगरोगन गरिएको छ । प्रतियोगिताको लागि सबै तयारी पूरा भएको प्रवक्ता राईले बताए ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् । आयोजक अखिल नेपाल फूटबल संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटनका लागि आग्रह गरेको थियो ।
तर प्रधानमन्त्रीको समय नमिलेपछि पूर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तो गरिएको हो । मंगलबार दिउँसो २ बजे प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने प्रवक्ता राईले जानकारी दिए ।
नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको उदघाटन
फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सन् २०१०, २०१२, र २०१४ मा उपबिजेता बनेको नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र भुटान छन् ।
सन् २०१०, २०१२, २०१४ र २०१६ को बिजेता भारतसहित समूह बी मा श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको फाइनल खेल चैत ८ गते हुनेछ ।
Post a Comment