काठमाण्डौ,फागुन २६ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नारी नेत्रीले विश्वलाई कसरी रूपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हनुहुनेछ ।
उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उहाँले फागुन २९ गते संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी लगायत रहनुहुनेछ ।
Post a Comment