धनकुटा, झापा फाल्गुन २६ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत धनकुटा र झापा जिल्लामा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
धनकुटाको चौविसे गाउँपालिका-३ कन्यापोखरीमा शनिवार भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । राती साढे ११ बजे भेडेटार-राजारानी भित्री सडक खण्डमा भेडेटारबाट राजारानी तर्फ जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १२ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्याक्टरका चालक सोही स्थान बस्ने वर्ष ३० को मोहन सिंह तामाङ गम्भीर घाइते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा राती १२:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ । त्यसैगरी पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-५ पाडाजुँगीमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे. ९ प. २९८८ नम्बरको मोटरसाईकलले रोकेर राखेको बा. १३ च ७५२७ नम्बरको कारमा पछाडीबाट ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-८ डुडाँमारी बस्ने बर्ष ४६ को कुमार गिरी र पछाडी सवार बर्ष ४९ को महेन्द्र भट्टराई घाइते भई उपचारको लागि लाईफ लाईन हस्पिटल दमक पठाईएकोमा मोटरसाईकलको पछाडी सवार महेन्द्र भट्टराईको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment