मोहन कुमार राई-असोज २१ गते । रातो तारा डट कम,
संखुवासभा- जिल्लाकै ख्याती प्राप्त गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुरको छैटौं साधारण सभा “सदस्यहरुको वित्तिय सोचाई गाउँ विकास साकोस को पहिलो रोजाई” भन्ने मुल नाराका साथसम्पन्न गरेको छ ।
सहकारी संस्थाले आफ्नो वार्षिक कार्य प्रगतिको विवरण संस्थाको कोषाध्यक्ष झमला रिजालबाट रु. ५ करोड, २ लाख ३७ हजार ८ सय २० पैसा ६० बराबरको कारोबार भएको एक लेखा परीक्षण प्रतिवेदन कार्यक्रमका वीच प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थाका लेखा तथा सुपरीवेक्षक भीमबहादुर कार्कीबाट आव २०७३÷०७४ को लेखा सुपरीवेक्षण प्रतिवेदन समेत पेश गर्नुभएको थियो ।
बचत तथा ऋण सहकारी (साकोस)का अध्यक्ष नेत्र बहादुर डाँगीको अध्यक्षतामा भएको वार्षिक साधरण सभामा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सशस्त्र प्रहरी अरुण गुल्म संखुवासभाका गुल्मपति राम प्रसाद भण्डारी, जिल्ला सहकारी संघका सचिव छत्रमणि पन्त, मर्सिकोर नेपाल परीयोजना अधिकृत थरेन्द्र नेपाल , सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, नगरपालिकाभरीका वडा अध्यक्षहरु सहकारी सदस्यहरु लगायतको उपस्थित रहेको सो कार्यक्रममा प्रमुख अतिथि एवं चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
८ सय ७४ महिला र ६ सय ३८ गरी जम्मा १ हजार ५ सय १२ शेयर सदस्य रहेको संस्थाको सो कार्यक्रममा संस्थाको अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष नेत्रबहादुर डाँगीबाट संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा ५८ लाख, २९ हजार, ४ सय ५ रुपैया रकम बराबरको आम्दानी तथा खर्च विवरण पेश गर्नुभएको थियो । समुदायमा रहेका मानिसहरुको बचत गर्ने वानीले भविष्यमा उत्पादनशिल कार्यमा लगानी गर्न सके दिगो आर्थिक विकास भै समुदायकै हित तथा राष्ट्रलाई नै आर्थिक विकासमा टेवा पुग्न सक्ने धारणा वताउनुभयो ।
कार्यक्रममा ७० वर्ष माथिका शेयर सदस्य, फरक क्षमता भएका शेयर सदस्य, असल ऋणी, बालबचत, पेन्सन वचतकर्ता लगायतको सदस्यहरुलाई पुरस्कार एवं दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसै गरी शेयर सदस्यहरु मध्येकै कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा उत्कृष्ट नम्बर ल्याउने छात्र–छात्राहरुलाई रु १ हजारको दरले ५ जना विद्यार्थीहरुलाई पुरस्कृत समेत सो कार्यक्रममा गरिएको
थियो । यसै गरी सफल उद्यमी चैनपुर ७ का बद्री कुमार कार्की र चैनपुर ६ का दुर्गा देवी श्रेष्ठलाई रु ५ सय दिएर संस्थाले सम्मान गरेको थियो ।
Post a Comment