Websoft University

स्वदेशमा उत्पादित धागो र कपडा मेला

काठमाडौँ, भदौ ३१ गते । रातो तारा डट कम,
नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ । नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ ।

मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले कपडा उद्योग हरेक देशको मातृ उद्योग भएको बताउनुभयो । उहाँले नेपाली उद्योगको विकासका लागि मन्त्रालयले सबैखाले सहकार्य गर्ने बताउँदै पुराना उद्योगका कानून सशोधन गर्दै लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यमान व्यापार घाटा घटाउन पनि हामीले विभिन्न कानून पुनरावलोकन गर्दैछौँ भने नयाँ कानूनबारे पनि छलफल भइरहेको छ, सरकार निजी उद्योगीसँगको सहकार्यमा नियम कानून बनाउन र कार्यान्वयनका लागि सहकार्य गर्न सधँै तत्पर छ ।”

नेपाली उत्पादनलाई स्वदेशमै प्रयोग गर्न उद्योगीले गुणस्तरमा कुनै सम्झौता गर्न नहुने सचिव कोइरालाको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले देशमा सञ्चालित उद्योगलाई प्रवद्र्धन गर्नेभन्दा पनि राजश्व संकलन गर्नेतिर मात्र केन्द्रित रहेको उल्लेख गर्नुभयो । उहाँले कुनैबेला देशको कूल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत निजी उद्योगको हिस्सा रहे पनि अहिले घटेर पाँच प्रतिशतमा झरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

“सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न सक्नुपर्छ, देशमा अधिकतम रोजगारी दिने र उच्च आम्दानी गर्न सक्ने उद्योग धागोकपडा उद्योग हुन्, राज्यले यस्ता उद्योगको लगानीको संरक्षण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र प्रधान र समुद्रपार निर्यात पैठारी संघका अध्यक्ष हिमबहादुर रावलले नेपाली उत्पादन प्रयोग गर्न सरकारले नै जनतालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल धागो उत्पादन संघका अध्यक्ष पवन गोल्याणले तीन दशकअघिबाट नेपालमा आधुनिक कपडा उद्योग शुरु भएको उल्लेख गर्दै करिब रु १० अर्ब लगानी रहेका छवटा ठूला धागो उद्योगमा लगानी रहेको जानकारी दिनुभयो ।

‘अहिले चार उद्योगमात्र सञ्चालनमा छन्, ५० हजारभन्दा बढीलाई रोजगारी दिएको छ, यीमध्ये ३० हजार महिला रोजगार छन्”, उहाँले भन्नुभयो ।

हाल नेपाली उद्योग आवश्यक धागो उत्पादन गर्न सक्षम रहे पनि स्वदेशी उद्योगले १५ हजार प्रतिशतमात्र स्वदेशी र बाँकी आयातित धागो प्रयोग गर्ने गर्छन् । नेपालमा ७० प्रतिशत लक्ष्य रहे पनि ४० प्रतिशत धागो उत्पादन हुनेगर्छ । नेपाल धागो उत्पादन संघका अनुसार प्रतिव्यक्ति १५ मिटरका दरले वार्षिक ४५ करोड मिटर कपडा आवश्यक पर्छ । कानूनीरुपमा १२ करोड मिटर आयात भए पनि बाँकी २७ करोड मिटर गलत बाटोबाट नेपाल भित्रने अध्यक्ष गोल्याणको भनाइ छ ।

कपडा उद्योगको विकास धागो उद्योगको विकास भएकाले यस्ता उद्योगलाई विकास गर्न मेला आयोजना गरिएको उहाँले बताउनुभयो । सरकारले अनाधिकृत रुपमा चोरीपैठारी, गलतबाटो प्रयोग गरी कच्चा पर्दाथ नेपाल ल्याउने काम रोक्नुपर्ने अध्यक्ष गोल्याणले बताउनुभयो । मेलामा विभिन्न कपडा, सुर्टिङसर्टिङ, होजियारी, स्वेटरलगायत उत्पादन गर्ने विभिन्न उद्योगका ५५ कक्ष राखिएको छ । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.