विराटनगर साउन ३ गते । रातो तारा डट कम,
नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको नगरसभामा पुन: बहुमत कायम गर्न सफल भएको छ । नगरकार्यपालिकाको हिजो भएको निर्वाचनमा आफ्नो तर्फका सात सदस्य निर्वाचित भएपछि नगरसभामा कांग्रेसको बहुमत प्राप्त भएको हो ।
अहिले विराटनगरमा २९ सदस्यीय नगर कार्यपालिका बनेको छ । कार्यपालिका बैठकलाई नगरसभा भनिन्छ । अब नगर सभामा नेपाली कांग्रेसबाट १८, संघीय समाजवादी फोरमबाट ६, एमालेबाट ३ र माओवादी केन्द्रबाट २ जना सदस्य भएकाछन् । मेयर र उपमेयर स्वतः नगर सभाको प्रमुख र उपप्रमुख हुनेछन् ।
५ महिला सदस्यमा भएको निर्वाचनमा ११ जनाले प्रतिस्पर्धा गर्दा कांग्रेसका ४ र माओवादी केन्द्रबाट १ जना विजयी भएका छन् । जिल्ला समन्वय समितिमा कांग्रेस बाहेकका दलले सहमति गर्ने बताए पनि माहानगरपालिकामा भने कांग्रेस र माओवादीबीच तालमेल भएको थियो ।
९७ जना प्रतिनिधि रहेको नगरसभामा कांग्रेसबाट महिला सदस्यमा शुशिला पोखरेलले ५३ मत, कमला सुब्बाले ५५ मत, शिला श्रेष्ठले ५२ मत र विनादेवी धानुकले ५२ मत ल्याएर निर्वाचित भए । माओवादी केन्द्रकी चम्पा खत्रीले ५२ मत प्राप्त गर्दै विजयी भएकी छन् ।
पराजित भएकी एमालेकी इन्दीरा गिरीले ४० र सम्झा देवी सरदारले ३८ मत ल्याए । संघीय समाजवादी फोरमबाट ललितादेवी पासवान ४२, विमला देवी पौदार ३८, शैली यादव ३९ र शरिता देवी साहले ३ मत प्राप्त गरे । दलित तथा अल्पसंख्यक तर्फको ३ सदस्यका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए । तीनवटै पदमा कांग्रेसले जितेको छ ।
गायत्री कुमारी दास र अरुण खेतानले बराबर ५४ मत र राजेश भुजेलले ५१ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका दिपक कुमार कर्ण ३७, संघीय समाजवादी फोरमबाट रेखा रानी सिंह ३८, जितेन्द्र ऋषिदेव ३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका भरत ठाकुरले ३९ मत प्राप्त गरे । त्यसैगरी फोरम लोकतान्त्रिकका बलु राम सरदारले आफ्नो मात्रै एक भोट पाएका छन् ।
Post a Comment