काठमाडौं, असार १ गते । रातो तारा डट कम, गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने बरु राजनीतिक नेतृत्व गर्ने बताएका छन् ।
सबै सुरक्षा संगठनलाई अनुशासित बनाउने र सिपाहीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताएका छन् ।
‘म राजनीतिक नेतृत्व गर्नेछु, हस्तक्षेप गर्ने छैन ।
राजनीतिक नेतृत्व र हस्तक्षेप फरक कुरा हुन्,’ मन्त्री शर्माले भने, ‘काम यही फोर्सले गर्ने हो । अहिलेको देशको आवश्यकता अनुसार कसरी अगाडि बढ्ने भनेर गाइड लाइन गर्ने काम मात्रै मेरो भएको हुनाले मैले राष्ट्रकै पक्षमा देशकै पक्षमा गाइड लाइन गर्नेछु ।’गृहमन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले देशको आवश्यकता अनुसार आफूले गाइडलाइन मात्रै दिने बताए ।
कुनै स्वार्थ छैन-आफ्नो स्वार्थपूर्तिका लागि गृहमन्त्रीको जिम्मेवारीमा आफू नआएको भन्दै उनले सही नियतले काम गर्ने बताए । उनले भने, ‘मूल्यांकन गर्नेहरुको आँखा तलमाथि पर्ला, त्यो अर्कै कुरा हो त्यो मेरो जिम्मामा छैन तर मैले सही नियतले नै गर्नेछु । यहाँ मेरो छुट्टै उद्देश्य पूर्ति गर्न यहाँ आएको होइन । देशले, जनताले माग गरेको कुरालाई मैले पनि योगदान गर्नेछु ।’
सोर्सफोर्स लगाउन खोज्नेलाई कारबाही नेताहरुको चाकडी गर्ने र सोर्सफोर्स लगाउनेहरुलाई कारबाही पनि गर्ने उनले चेतावनी दिए । उनले एकजना सुरक्षा अधिकारी आफूकहाँ सोर्स लगाउन आएको र आफूले त्यसलाई इन्कार गरिदिएको प्रसंग पनि सुनाए ।
Post a Comment