
काठमाडौ,२१ गते । रातो तारा डट कम,ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै मृतकका परिवारलाई सहयोग स्वरुप ३० लाख रुपैयाँ दिने सहमति गरेको छ ।
अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा नाराबाजी सहित विरोध जनाएपछि अस्पतालले उक्त रकम दिन सहमति जनाएको हो ।
विरामीका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने तथा मृतकलाई उचित क्षतिपूति दिइनु पर्ने माग राख्दै अस्पताल परिसरमा केही बेर अघि नारा जुलुस गरेपछि अस्पतालले क्षतिपुर्ति दिन सहमति जनाएको हो ।
यद्यपी पीडित पक्ष र अस्पताल प्रशासनबीच सम्झौता हुन अझै बाँकी छ । मृतकका आफन्तले अस्पताल समक्ष ६० लाख रुपैयाँ क्षतपूर्ति बापतको रकम माग गरेका थिए ।
पेट दुख्ने समस्याका कारण गत जेठ १५ गते मिडाट अस्पताल भर्ना भएकी बनेपा १० नमोवुद्ध अस्थाई घर भएकी बनेपा ८ की ५३ वर्षीया रोजकुमारी श्रेष्ठको गत जेठ १६ पाठेघरका शल्यकि्रया गरिएको थियो ।
शल्यकि्रया पश्चात्त उपचार गर्ने क्रममा विरामीलाई पेट फुल्ने समस्या तथा असहज महसुस भएपछि विरामीको ज्वाई लगायत आफन्तको दवावमा अस्पताललाई त्यसबारे थप उपचार गर्न लगाइएको थियो ।
उपचारका क्रममा भिडियो एक्सरे गर्दा पाठेघरको शल्यकि्रयाका क्रममा नजिकैको आन्द्रा काटिएर त्यसमा प्वाल भएको र त्यसबाट दिशा चुहिएर पेटमा संक्रमण भएको पाइएको थियो ।
लगत्तै, अस्पतालका अर्का चिकित्सक मनिस श्रेष्ठको टिमले उक्त आन्द्राको शल्यकि्रया गरेको थियो ।
‘पाठेघरको अपरेशन गरे पछि विरामीको पेट फुल्दै आएर गार्हो भएपछि हाम्रै ज्वाईहरुले कराएपछि अस्पतालले भिडियो एक्सरे गर्दा आन्द्रा काटिएको थाहा भयो ।
जुन कुरा अस्पतालले हामीलाई भनेकै थिएन । र त्यसका उपचार पनि नगरिकन त्यत्तिकै छोडेको रहेछ । पछि समस्या देखिएपछि अस्पतालले शुुक्रवार बेलुकी ८ बजे आन्द्राको अपरेशन गरेको थियो’, मृतकका अंकल धर्म श्रेष्ठले भने ।
त्यसको करिब १५ घण्टा जति पछि बिरामीलाई स्वास र्फन अप्ठेरो भई समस्या देखिए पछि बल्ल अस्पतालले आफूका आईसीयू नभएकोले पाटन अस्पताल लग्नु पर्छ भनेको उनले सम्भिए ।
पाटन अस्पताल लगेको करिब १५ मिनटमै विरामीको मृत्यु भएको उनले बताए । उनका अनुसार अस्पतालले हिजो बेलुकी करिब ७ बजे पाटन अस्पतालले विरामीको मृत्यु भएको खबर दिएको थियो । विरामीको शव हाल पाटन अस्पतालकै आइसीयुमा राखिएको छ ।
रोजकुमारीको शल्यकि्रया गाइनोकोलोजिस्ट डा. रञ्जना श्रेष्ठ तथा डा. विनय राज भण्डारीले गरेका थिए भने आन्द्राको शल्यकि्रया डा.मनिष श्रेष्ठले गरेका थिए ।
उनीहरु पाटन अस्पतालकै चिकित्सक भएको र पिडितलाई अल्झाउन अन्तै पठाएको मृतकका आफन्तले आरोप लगाएका थिए ।
पीडित पक्ष र अस्पताल प्रशासनबीच आज विहान देखि पटक पटक वार्ता भएकोमा चौथो चरणको वार्ता सहमतिमा टुङ्गएिको छ । रोजकुमारीका ७ छोरी छन् । त्यसमध्य ४ को विवाह भैसकेको छ भने ३ जना अविवाहित छन् ।
Post a Comment