
बिराटनगर,माघ ८ गते । २०७३, रातो तारा डट कम-
नेत्र विक्रम चन्द विप्लव, नेतृत्वको नेकपा माओवादी, ले भारतले नेपालको सत्ता र विद्रोहको राजनीतिमा दोहरो चरित्र देखाएर अनौंठो चाल चालिराखेको आरोप लगाएकोछ ।
‘सत्तामा पनि आफैं, विद्रोहमा पनि आफैंको अनौठो चाल भारतले चालिहरको छ’ अगामि फागुनमा हुने पार्टीको ८ औं महाधिवेशनको लागि तयारको ९६ पृष्ठ लामो ‘राजनीतिक प्रतिवेदन’मा भनिएको छ, ‘ विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि त्यसपछि केपी ओलीको सरकार गिराउनेमा भारतको नै मुख्य हात रहेको छ ।
स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कयौं क्षेत्रीय पार्टी समेत भारतले बोकेर हिँडिरहेको छ ।’
नेपालको राजनीतिमा भारतले निर्लज्ज हस्तक्षेप गरिराखेको उल्लेख गर्दै ‘ भारतले राजनीतिक दललाई कठपुतलीको रुपमा नचाउँदै आएको छ, उसले संविधान, कानुन, सरकार, बनाउने र भत्काउने काम गरिराखेको छ ।’
संविधान बनिसकेपछि संसदवादी दलहरु सत्ता स्वार्थका लागि विभिन्न अन्तराष्ट्रिय शक्ति केन्द्रसँग जोडिन पुगेको भन्दै एकथरी अमेरिका र युरोपसँग जोडिएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय नेपाली राजनीतिकको मुख्य खेलाडी अन्तराष्ट्रिय शक्ति पनि रहेको उसको प्रतिवेदनमा छ ।
कांग्रेस भारत र अमेरिकातिर, एमालेभित्रको केपी समूह चीनतिर र अर्को समूह भारततिर टास्नि खोजेको भनिएकोछ।
तर, मधेसवादी पार्टीले खुलेयाम रुपमा भारतपस्त देखिएको उसको प्रतिवेदनमा छ । ‘अन्य जातीय पार्टीहरु पश्चिमाबाट सञ्चालित देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘माओवादी केन्द्र चरम अवसरवादी चरित्रमा ढुलमुलाई रहेकोछ, जताबाट क्षणिक फाइदा हात लाग्छ,उतै पल्टाखाने खालको भएको छ, यसलाई हाल भारतले नै उपयोग गरिराखेको छ ।’
सत्ताको रसास्वादन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रको त्रिकोणात्मक संघर्ष चलिराखेको छ । संविधानसभा चुनाव अघि र पछि कांग्रेस–एमाले एक देखिए पनि केपी ओली नेतृत्को सरकार चीनतिर ढल्केपछि माओवादी केन्द्र अवसरवादलाई पकड्दै कांग्रेसको कित्तामा उभिएको उसको विश्लेषण छ ।
यसरी संसदवादीको असफलताको फाइदा उठाउँदै पूर्वराजावादीहरु सक्रिए भएर राजतन्त्रलाई पुनर्स्थापना गर्ने योजनामा रहेको प्रतिवेदनमा छ ।
‘यो नेपाली जनताको बीचबाट सम्भव नदेखिएपछि उनीहरु पनि विदेशी शक्तिको आड लिन खोजेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ यसका लागि उनीहरुको भारतको हिन्दू अतिवादी सन्त, महन्त र हिन्दूवादी व्यक्तिहरुलाई उठाएर ल्याइरहेका छन् नेपालभित्र पनि हिन्दू धर्मका नाममा यो चाल अगाडि बढाउन प्रयत्न गरिरहेका छन् ।’
सत्ता कब्जा गर्न संसदवादी सफल संसदवादीले माओवादीसँग भएको सहमति लत्याएर आरोप लगाउँदै उसले अब प्रतिक्रान्तिको सम्भवना रहेको उल्लेख गरेको छ । शान्तिकालमा माओवादीभित्र आत्मसमर्पणवाद, विसर्जनवाद र पलायनवाद देखा परेको भन्दै उसले प्रचण्ड, बाबुरामहरुले जनयुद्धका विचार, राजनीति, आदर्श, मूल्य–मान्यताहरुलाई परित्यागन गर्न पुगेको अरोप लगाएको छ ।
‘त्यसबेला पार्टीभित्रको एक हिस्सा राजनीतिक रुपलेमात्र होइन आर्थिक रुपले समेत भ्रष्ट, विचलित र पतित हुन पुग्यो, माओवादीले कल्पना नै गर्न नसकिने गरि तस्करी, भ्रष्टाचार,अबैध धन्दामा पतन हुन पुग्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘ जनमुक्तिसेनाभित्रको एक हिस्सा व्यारेकभित्र असिमित भ्रष्टाचार गर्न पुग्यो ।’
प्रचण्ड र बाबुरामसहित करोडपति अर्बपति र नबधनाढ्यवर्गमा पतन भएको उसको आरोप छ । प्रचण्ड र बाबुरामको धोका र गद्दारीले गर्दा माओवादी क्रान्ति असफल भएको र त्यसपछि आफूहरुले विद्रोह गरेर क्रान्तिधारको नेतृत्व गरेको प्रतिवेदनमा छ ।
नेकपा ९माओवादी० को ८ औं महाधिवेशन फागुन १ गते राजधानीको खुलामञ्चमा उद्घाटन हुनेछ भने, बन्दसत्र माओवादी उद्मथलो मानिएको रोल्पाको थवाङमा फागुन ५ देखि १० गतेसम्म हुनेछ ।
Post a Comment