भद्रपुर, माघ १० गते । २०७३, रातो तारा डट कम -
झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थितको मेची पुलको निर्माण कार्य पूरा हुन
अझ सुनिश्चत हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् ।
अनक–सूर्या जेवीले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ मा रु ३७ करोड ३६ लाख ८५ हजारमा ठेक्कामा लिई काम सुरु गरेको थियो । निर्माण अवधि सकिएर पनि दुई वर्ष नौ दिन बितिसकेको छ तर पुल नबन्नु चरम ढिलासुस्तीको नमुना भएको स्थानीय बासिन्दाको गुनासो छ ।
मेची पुलको लम्बाइ ५६० मिटर, चौडाइ ९।८ मिटर डबल लेन हुने सो पुल नेपाली प्रविधिबाट अन्तर्राष्ट्रियस्तरको पहिलोपटक निर्माण हुन लागेको बताइको छ । पुलको दुवैतर्फ पैदल मार्ग पनि बनिने भएको छ ।
सत्रवटा पिलर रहेको सो पुलमा अहिले १५ वटा पिलरको निर्माणकार्य पूरा भई १२ वटा पिलरमा बिम पनि चढाइसकेको छ । पुलको दुईवटा ११ र १२ नम्बरको पिलर टेडो भएको र सो सम्बन्धमा सडक विभाग पुल एकाइले अहिलेसम्म निष्कर्षमा पुग्न नसकेकाले काममा ढिलाइ भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
पिलर निर्माण गर्न कठिनाइ भएपछि ड्रगलाइन मेसिन सिङ्गापुरबाट रु ६० लाखमा झिकाइ गएकै वर्षमा काम सम्पन्न गर्ने ठेकदारको लक्ष्य पूरा हुन सकेको छैन । निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले नेपाल सरकारबाट भुक्तानी हुने रकममा समस्या नरहेको तर मेची नदीमा वर्षात्को समयमा आउने बाढीले गर्दा बर्सेनि तीन महिना काम रोक्नु पर्ने भएकाले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको प्रतिक्रिया दिनुभयो ।
Post a Comment