काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,तेह्रथुमको जिरिखिम्ति मोराहाङ सन्दु सडक खण्डको खोरुङ्गा खोलामा मोटरेवल पुल बन्ने भएको छ । प्रदेश सरकारले मेन्छ्यायेम गाउँपालिका–४ र १ स्थित खोरुङ्गा खोलामा ३५ मिटर लामो पुल बनाउने भएको हो ।
५ करोड ३ लाख ३४ हजार ७ सय ६ रुपैयाँ निर्माण हुने पुलको प्रदेश सांसद तेजमान कन्दङवाले शिलान्यास गर्नुभयो । प्रदेश सरकारले सो पुल निर्माण बनेपछि मेन्छ्यायेम गाउँपालिकाको आन्तरिक सडक यातायात सुदृढ हुनुका साथै फेदाप र आठराई गाउँपालिकालाई पनि सदरमुकामसम्म जान आउन सहज हुने उहाँले बताउनुभयो ।
पुल नहुँदा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका बासिन्दालाई वर्षाका समयमा सवारी लिएर आवत् जावत् गर्न समस्या हुने गरेको छ । सांसद कन्दङवाले स्थानीय सरकारले बिकास निर्माणका लागि बजेट बिनियोजन गरेपनि निर्माण व्यवसायीले सहयोग नगर्दा बिकासले गति लिन नसकेको बताउनुभयो ।
व्यवसायी र सरकारबीच तालमेल नहुँदा देशैभरि निर्माणका कामले गति लिन नसकेकाप्रति चिन्ता व्यक्त खोरुङ्गा पुल निर्माणलाई तीब्र रुपमा अघि बढाउन र समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो । पुर्वाधार विकास कार्यालय, संखुवासभा अन्तर्गत निर्माण हुने पुल ३१ असार, ०७८ भित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, उपप्रमुख प्रेमलता गौतम, मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादबबहादुर खापुङ, उपाध्यक्ष गीतादेवी गौतम, स्थानीयबासी टोमप्रसाद दाहाल लगायतले मन्तव्य राखेका थिए । स्थानीयले पुल निर्माणको काम सम्पन्न गरिदिन आग्रह गरेका छन् ।
Post a Comment