काठमाडौँ,असोज २४ गते । रातो तारा डट कम,
अभिव्यक्ति स्वतन्त्रताको प्रर्वद्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा भएको उक्त सम्मेलनको उद्घाटन व्यवस्थापिका– संसद्की सभामुख ओनसरी घर्तीमगरले गर्दै लोकतन्त्रका विविध आयाममध्ये अभिव्यक्तिको स्वतन्त्रता एउटा मूलमन्त्र भएको बताउनुभयो ।
सभामुख घर्तीमगरले लोकतन्त्रलाई संस्थागत गर्दै समय सापेक्ष विकास गर्नको लागि अभिव्यक्तिको मुख्य साधन आमसंञ्चार माध्यम रहेको बताउनुभयो ।
उहाँले राज्यको अन्य तीन अंगले गर्ने कार्यसम्पादनलाई स्वतन्त्र ढंगले पर्गेल्ने मुख्य काम सञ्चार माध्यमले गरेकाले पनि आमसञ्चार माध्यमलाई राज्यको चाँैथो अंग मानिएको बताउनुभयो ।
मंसिरमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचन पश्चात संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा हुने भन्दै उहाँले विभिन्न ऐन कानूनलाई संघीयता अनुकूल संशोधन र परिमार्जन गर्दै लानुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
उहाँले पछिल्ला समयमा पत्रकारमाथि हुने गरेको आक्रमण र हत्याजस्ता अप्रिय घटना न्यूनीकरण हँुदै गएको र यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको आभास भएको बताउनुभयो ।
Post a Comment