ताप्लेजुङ माघ २,गते ।
ताप्लेजुङमा गुणस्तरीय ईट्टाको उत्पादन सुरु भएको छ ।भिएसबिके नामक संस्थाको प्राविधिक सहयोगमा नाङ्खोल्याङ गाविसमा ईट्टा उद्योग स्थापना भएसँगै गुणस्तरीय ईट्टा उत्पादन हुन थालेको हो ।
जिल्लामै गुणस्तरीय ईट्टा उत्पादन हुन थालेपछि स्थानीयलाई राहत मिलेको छ । अहिले स्थानीयलाई घर तथा भवन निर्माण गर्न जिल्ला बाहिरबाट ईट्टा ल्याउनुपर्ने बाध्यता हटेको हो ।
माटोको गुणस्तर अध्ययन गरी करिब एक करोडको लगानीमा स्थापना गरिएको यस उद्योगबाट दैनिक पाँच ट्रकसम्म ईट्टा उत्पादन भईरहेको छ । ती ईट्टा ताप्लेजुङ र पाँचथरको विभिन्न स्थानमा पठाउने गरिएको उद्योग व्यवस्थापक कुमार डाँगीले जानकारी दिए । यसअघि झापाको बिर्तामोडबाट महँगो भाडा तिरेर ईट्टा ल्याउनुपर्ने बाध्यता थियो ।
अहिले सदरमुकामदेखि २० किलोमिटरको दुरीमा नै ईट्टा उद्योग स्थापना भएपछि कम मूल्यमा नै खरिद गर्न सकिने हुँदा राहत मिलेको स्थानीय बताउँछन् । उद्योगमा ८३ जना कामदारले रोजगारी पनि पाएका छन् ।
Post a Comment