काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,आगामी वर्षलाई भ्रमण वर्ष मनाउने सरकारले अन्तिम तयारी गरिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले अघि सारेको एक एनआरएन एक विदेशी प्रस्तावमा गैरआवासीय नेपाली संघले सहमति गरेको छ ।
यस सम्बन्धी समझदारी पत्रमा मन्त्री भट्टराईको उपस्थितिमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमाार पन्त र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीपत्रको पहिलो बुँदामा मन्त्री भट्टराईले अघि सारेको एक एनआरएनले एक विदेशीलाई नेपाल घुम्न पठाउने अभियान सञ्चालन गर्ने उल्लेख छ ।
यो कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने भएका छन् । त्यसरी विदेशी साथी नेपाल पठाउने व्यक्ति र संघ वा संस्थालाई सम्मानको लागि सरकार समक्ष सिफारिस गरिने समझदारीमा उल्लेख गरिएको छ । त्यसबाहेक भ्रमण वर्षभर संघले विदेशमा आयोजना गर्ने गोष्ठी, सेमिनार लगायतका कार्यक्रम नेपालमा गर्ने भएका छन् ।
२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । भ्रमण वर्ष नजिकिरहेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो ।
Post a Comment