उदयपुर माघ १४ गते । रातो तारा डट कम -
उदयपुरको साउने गाउँ विकास समिति वडा नं. ३ भैँसेका एक दलित युवाले कथित उपल्लो जातकी युवतीसँग मागी विवाह गरेका छन्, त्यो पनि पञ्चेबाजा बजाएरै।
स्थानीय २२ वर्षीय बद्री विश्वकर्मा र २१ वर्षकी छम्कीकुमारी मगर परिवारकै सहमतिमा विधिपूर्वक लगनगाँठो कसेका हुन्। सामाजिक परम्परा र हिन्दू संस्कारअनुसार विवाह गरिएको बेहुलाका बाबु अर्जुन विश्वकर्माले बताए। ‘छोराको विवाह गर्ने योजना बनाइरहेको थिएँ।
केटी खोज्ने काम भइरहेको थियो, तर भेटिएको थिएन,’ उनले भने, ‘एक्कासी छिमेकी गाउँका एक मगरले छोरी दिने खबर पठाए र पछि विवाह पनि भयो।’ कथित उपल्लो जातिबाट छोरी दिन्छु भन्दा आफू एकछिन त दोधारमा परेको उनले सुनाए। यता बेहुलीका बाबु कुमार मगर भने छोरीको चाहनाअनुसार नै आफूले विवाह गराइदिएको बताउँछन्। ‘छोरीले बद्रीजस्तो केटा पाए विवाह गर्छु भनेपछि सम्धीलाई बोलाएर विवाह पक्का गरिदिएको उनी बताउँछन्।
‘केटाकेटी दुवै विवाहका लागि राजी भए,’ उनले भने, ‘जसको विवाह हो, उनीहरु नै तयार भएपछि हामीलाई विवाह गराइदिन कुनै समस्या परेन।’ आफूले चाहेको मानिस पाएपछि छम्पी त खुसी छन् नै बद्री पनि मख्खै।
‘हामी दुवैले एकआर्काको भवाना सहज रुपमा बुझ्ने भएकाले विवाह गरेका हौं,’ उनीहरुले भने, ‘जिन्दगी हाम्रो हो, समाजको होईन। समाज रुपान्तरण हामीले गर्नुपर्छ अरु कसैले गर्दैन ।’

Post a Comment