विराटनगर, १७ गते |  गणेश लम्साल-मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले हिजो आइतवार आदर्श नेता तथा पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५औं जन्मजयन्ती धुमधामसँगै मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल्यार्पण गर्दै उनलाई सम्झना गरिएको थिया । उक्त्त अवसरमा विश्वविद्यालय परिसरमा रक्तदान, वृक्षारोपण तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

पुरस्कार वितरणकै क्रममा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आक्रोश पोख्दै विरोधीहरूलाई कडा जवाफ दिएका थिए । उनले देशकै पहिलो प्राविधिक विश्वविद्यालय सीमित बजेटका बीच पनि प्रगतिपथमा अघि बढिरहेको अवस्थामा विभिन्न भ्रमपूर्ण हल्ला फैलाउन थालिएको भन्दै आपत्ति जनाए। “मनमोहन विश्वविद्यालय बन्द हुन्छ भन्ने हल्ला गर्नेहरूले हेरेर राखून्, आगामी दश वर्षमै यो विश्वविद्यालय दक्षिण एसियामा चिनिन्छ,” उपकुलपति पोखरेलले दाबी गरे।

उनले विश्वविद्यालयले उत्पादनमुखी अनुसन्धानमा सफलता हात पारिसकेको र विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याइरहेका कारण प्रगतिको यात्रा कसैले रोक्न नसक्ने बताए। “ जति बाधा हालेपनि हामी सीमित स्रोत र चुनौतीलाई पार गर्दै आगामी दश वर्षभित्र दक्षिण एसियामा चिनिने यात्रामा सफलता हासिल गरेरै छाड्छौं,” भिसी पोखरेलले भने। उनका अनुसार विश्वविद्यालयले सन् २०३० भित्रका महत्वाकांक्षी लक्ष्यसहित रणनीति तयार गरी कार्यान्वयन गरिरहेको छ।

पोखरेलले विश्वविद्यालयमा सीमित बजेट र जनशक्ति हुँदाहुँदै पनि मधुमेह नियन्त्रण तथा अन्य औषधि उत्पादनमा विज्ञ टोलीबाट अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार फार्मेसी संकायका विद्यार्थीहरूको समूहले विभिन्न प्रकारका भिक्स र सन्चो औषधिहरू उत्पादन गरिसकेका छन् भने मधुमेहका लागि जडीबुटीजन्य औषधि उत्पादनको तयारी भइरहेको छ।

 यस्तै, विश्वविद्यालयमा ‘एमालेकरण’ बढेको र अनियमितता भएको आरोपका सन्दर्भमा उपकुलपति पोखरेलले विश्वविद्यालयले विश्वविद्यालयमा मधेश, तराई र पहाड सबैतिरका विद्यार्थीहरु पढने गरेको र शिक्षकहरुले पढाउँदै आएको बताए । उनले अध्यापन र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको स्पष्ट पारे । धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति गर्न लागिएको र कोशी प्रदेश सरकारले प्रक्रिया अघि बढाएकोमा धन्यवाद दिंदै यसै शैक्षिक सत्रदेखि बीएससी नर्सिङ, बीएनएमटी, साइकोलोजी काउन्सिलिङ लगायतका विषयमा कक्षा सुरु गरिने भिसी पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको यो विश्वविद्यालयले २०७८ सालदेखि उच्च प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । हाल यहाँ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कानूनमा बीबीए–एलएलबी, अपराधशास्त्रमा एलएलएम, हस्पिटल एन्ड हेल्थकेयर म्यानेजमेन्ट, फार्मेसी लगायतका विषयमा पढाइ हुँदै आएको छ। साथै, आंगिक शिक्षालय पोलिटेक्निकमार्फत आठ विषयमा डिप्लोमा तहको शिक्षासमेत दिइरहेको छ । मनमोहनले भ्यागुतो जस्तै उफ्रेर लक्ष्य हासिल गर्न मिसन २०३० रणनीति पनि तयार गरेको छ ।

विश्वविद्यालय भएर पनि डिप्लोमा तहको शिक्षालाई समेटेर गुणस्तर गिराएको भन्ने आरोपको सन्दर्भमा उपकुलपति पोखरेलले प्राविधिक विश्वविद्यालयको जग नै पोलिटेक्निक भएको उल्लेख गरे। “विश्वका धेरै देशमा केजीदेखि पीएचडीसम्मको अध्यापन गराउने विश्वविद्यालयहरू छन्, त्यसैले पोलिटेक्निक र विश्वविद्यालय अलग हुने कुरा होइन,” उनले भने। “विश्वविद्यालय हल्लाका भरमा बन्द हुने होइन, केवल पात्रहरू फेरिन सक्छन्।”

बुढीगंगा–२ टंकीका स्थानीय तथा कोशी प्रदेश सांसद, पूर्वमुख्यमन्त्री र पूर्वउपकुलपति समेत रहेका केदार कार्कीले विश्वविद्यालयमा ‘एमालेकरण’ भएको भन्दै खारेजीको माग गर्दै प्रदेश सभामा आवाज उठाएका थिए । सांसद कार्कीले  मनमोहनमा वेथिती बढको भन्दै छानविन समिति बनाउन पनि माग गरेका थिए । यता उपकुलपति पोखरेलले चाँही प्रदेश सरकारले पर्याप्त बजेट दिन नसक्दा लक्ष्य अनुसार सफलता हासिल गर्न समस्या भैरहेको र बेथिती भए अख्तियारबाटै छानविन गराएर दोषी पाइए कानुन अनुसार कार्वाही गराउन चेतावनी दिएका छन ।