Websoft University

“दिनको १२ घण्टा कार्यालयलाई दिन्छु, काम गर्दा थकान हुन्न इनर्जी आउँछ” : प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरे


मोरङ । रातो तारा डट कम, नेपालीमा एउटा उखान छ, “सरकारी काम कहिलेजाला घाम ।” यसको अर्थ हुन्छ, “सरकारी काम दिन कटाउने मेलो मात्र हो अर्थात् सरकारी कर्मचारीहरु काम गर्ने भन्दा पनि कसरी दिन कटाउने भन्ने ध्याउन्नमा हुन्छन् ।” पहिले पहिले यो उखानले निकै मेल खान्थ्यो । तर आजभोलि यो उखान अलि अव्यवहारिक बन्दै गएको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरेको सवालमा त झन् यो उखान सरासर गलत सावित हुन्छ । केहि दिनअघि रिपोर्टिङ गर्न नगरपालिका पुग्दा डा. घिमिरे साँझ ७ बजेसम्म कार्यालयमै भेटिए । उनी धमाधम आफ्नो टेवलमा थुप्रिएका फाइलहरु हेर्दै साइन गरिरहेका थिए । सोही मौकामा कोशी बुलेटिनका सम्पादक रेवती निरौलाले डा. घिमिरेसँग कुराकानी गरेका छन् ।

को हुन् डा. घिमिरे ?


हुम्ला, प्युठान र धनकुटाको प्रमुख जिल्ला अधिकारी तथा सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी भइसकेका डा. घिमिरेले २०४३ सालमा राष्ट्रिय संग्राहलय छाउनीबाट आफ्नो जागिरे जीवन सुरुवात गरेका हुन् । लामो समय महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा काम गरेका डा. घिमिरेसँग सूचना प्रविधि उच्च स्तरिय आयोगको श्रव्यदृश्य शाखा, गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र, सञ्चार मन्त्रालयको प्रेस शाखा र वाणिज्य तथा आपूर्ती मन्त्रालयमा रहेर काम गरेको अनुभव समेत छ । साथै उनले झुम्का कारागार सुनसरी, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रशासन कार्यालय लाहानको प्रमुख भएर पनि काम गरे । उनले सूचना प्रविधि नीतिमा सोउल नेशनल युनिभर्सिटी कोरियाबाट पीएचडी गरेका छन् । जागिरे जीवनको उत्तरार्धमा आइपुगेका डा. घिमिरे इमान्दार कर्मचारीको रुपमा चिनिन्छन् । उनी २०७७ चैत्र १५ गतेदेखि सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

टेबल क्लिनको अवधारणा

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे आफू टेबल क्लिनको अवधारणा अनुशार काम गरिरहेको बताउँछन् । “कागज पुगेका कुनै फाइल भोलिका लागि राख्दिन, भोलि भन्न नै हुँदैन भन्ने लाग्छ, टेवल क्लिन हुनुपर्छ भन्ने मेरो धारणा छ ।” उनी भन्छन्, “सोही अनुसार मेरो टेवलमा आज आइपुगेको फाइलको काम आजै सक्नुपर्छ भन्ने हो ।” जनताले दुःख पाउनु हुँदैन, सकेसम्म जनताको काम रोकिनु हुन्न भन्ने आफ्नो बुझाइ रहेको भन्दै उनले सेवाग्राहीले आफ्नो टेबलमा छाडेर गएको फाइल भोलि आउँदा काम सकेर फिर्ता दिनैपर्छ ।

आफैंलाई सेवाग्राही सम्झेर काम गर्ने तरिका

डा. घिमिरे सँधै आफुलाई नै सेवाग्राही सम्झेर काम गर्ने गरेको बताउँछन् । जनताको ठाउँमा आफुलाई राख्दा के अपेक्षा हुन्छ सोही कुरालाई सम्झेर काम गर्ने गरेको उनको भनाइ छ । यदि कागज पुगेको छ भने तत्काल काम गरिदिने गरेको र कागज नपुगेको अवस्थामा के के नपुगेको हो सो जानकारी दिइ कागज पुर्याएर ल्याउन आग्रह गर्ने गरेको उनी बताउँछन् । उनले सेवाग्राहीलाई जानकारी दिनका लागि काम अनुशार आवश्यक पर्ने कागजको लिष्ट बनाएर आफ्नो टेबल अगाडी राख्ने गरेका छन् ।  

दिनको १२ घण्टा कार्यालयमा

प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरे आफुले सँधै १२ घण्टा समय कार्यालयलाई दिने गरेको बताउँछन् । बाहिरको काम पर्दा बाहेक आफु विहान ७ बजे आएर बेलुका ७ बजेसम्म कार्यालयको काममा लाग्ने गरेको उनको भनाइ छ । आफ्नो जागिरे जीवनको सुरुवात नै राष्ट्रिय संग्राहलय छाउनीबाट भएको र कडा अनुसाशन रहेकाले आफुले सुरुवाती अवास्थादेखि नै कार्यालय समय र अनुशासनलाई प्राथमिकता दिनुपर्छ, सेवाबाट भाग्न हुँदैन भन्ने बुझेको उनी बताउँछन् । प्रायजसो दिनको १२ घण्टा कार्यालयमा रहने गरेको र आवश्यक पर्दा त्यो भन्दा बढी समय कार्यालयलाई दिने गरेको उनी बताउँछन् ।  

काम गर्दा थकान हुन्न इनर्जी आउँछ

डा. घिमिरे आफुले पाएको जिम्मेवारी अनुसार काम गर्न पाउँदा सँधै इनर्जी आउने गरेको बताउँछन् ।, “मलाई काम गर्दा थकान भन्ने नै हुँदैन, त्यतिकै बस्नु भन्दा काम गर्न पाएँ भने अझ इनर्जी आउँछ ।” उनले भने, “तर नहुने काम ल्याएर दवाव दिंदा चाहिं थकान हुन्छ ।”

स्थानीय तहको पहिलो अनुभव

आफुले स्थानीय तहमा पहिलोपटक काम गरेको भएपनि काम गर्ने क्रममा कुनै कठिनाइ नभएको उनी बताउँछन् । स्थानीय तहको ऐन कानुन बारे जानकार रहेको तथा यहाँ आएर थप अध्ययन गर्नुका साथै कर्मचारीहरुको कोअप्रेसनका कारण सहज रुपमा काम गर्न सफल भएको उनको भनाइ छ । जनतासँग प्रत्यक्ष जोडिने तथा बढी भीडभाड हुने भएपनि आफुले सकेसम्म जनताको कामलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधहरुले तय गरेको बजेट र कानुनलाई आधार मानेर त्यसको कार्यान्वयन गर्नु नै आफ्नो प्रमुख दायीत्व भएको उनको बुझाइ छ ।

जागिरे जीवनको उपलब्धि

डा. घिमिरेले आफ्नो ३५ वर्षे जागिरे जीवनलाई सम्झँदा केहि गर्व गर्न लायक काम गरेको बताउँछन् । हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा सिमिकोटमा ठूलो संघर्षका बीच खुल्ला मैदान निर्माण गर्न सफल भएको, हलियालाई रकम वितरण गरि मुक्त गर्न सफल भएको, विमानस्थलको मुअब्जा वितरण गर्न सफल भएको तथा चीनसँगको सिमाना लिमिलाप्चामा पुगेर चीनसँगको सीमा विवादको विषयमा स्थलगत अध्ययन गरि प्रतिवेदन तयार पारेको कुरालाई आफुले उपलब्धिको रुपमा लिएको उनको भनाइ छ । साथै राष्ट्रिय परिचय पत्रको डिजाइन निर्माणमा योगदान दिएको, जिल्ला बाल कल्याण समितिको अवधारणा ल्याएको, महिला अधिकारका सम्बन्धमा बेइजिङ घोषणापत्रको आधारमा कार्ययोजना बनाएको कामलाई पनि उनले महत्वपूर्ण मानेका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी तथा इलाका प्रशासन कार्यालय धरानको प्रमुख हुँदा राहदानी र नागरिकता बनाइ दिने नाममा हुने विचौलियाको रोकथाम गरेको कार्य पनि सम्झना योग्य रहेको उनी बताउँछन् । साथै धनकुटाको प्रमुख जिल्ला अधिकारी रहँदा धनकुटामा ठूलो मात्रामा गाँजा खेति हुने गरेकोमा ठूलो मात्रामा गाँजा फडानी गरेको कार्यलाई पनि उनले उपलब्धिको रुपमा लिएका छन्।                                                                                                                         सुन्दरहरैंचाको बसाइ कहिलेसम्म ?

सुन्दरहरैंचा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु निकै छोटो समय मात्र रहने गरेका छन् । हालसम्मका प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये सबै भन्दा बढी गणेश प्रसाद दाहाल १० महिना टिकेका छन् ।

अरु सबै सो भन्दा कम समय मात्र टिकेका छन् । गत चैत्र १५ गतेदेखि सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हाले लगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. घिमिरेले आफु कम्तिमा १ वर्ष सुन्दरहरैंचा नगरपालिकामा रहेर काम गर्ने योजनमा रहेको बताएका थिए । उनले आफु १ वर्ष भन्दा अघि अन्यत्र गएमा काम गर्ने क्रममा जनप्रतिनिधिबाट अनावश्यक दवाव आएको रुपमा बुझ्न सकिने समेत बताएका थिए । तर यसपटक उनले आफु कति समय सुन्दरहरैंचामा रहने भन्ने खुलाउन चाहेनन् । उनले यस विषयमा तपाईंहरुले थाहा पाइ हाल्नु हुनेछ नी भन्ने जवाफ दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.