Websoft University

प्रदेश नं. १ गोठगाउँमा साँच्चै अस्पताल बन्ला त?


मोरङ जेठ १४गते । रातो तारा डट कम,अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १ का केही अस्पतालमा बेड थप्ने निर्णय गर्याे । जसमा पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा पनि २ सय बेड थप्ने निर्णय भयो । कोरोनाका संक्रमित थपिइरहेको बेला उपचारमा सहज होस् भनी मन्त्रिपरिषद्ले विभिन्न अस्पतालमा ८ सय ५० बेड थप्ने क्रममा पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा पनि २ सय बेड थप्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै सुन्दरहरैंचावासी मात्रै नभएर पूर्वाञ्चल विश्वविद्यालयको हित चाहनेहरु खुशी भए । गोठगाउँमा ८ सय बिघाभन्दा बढी जग्गा भए पनि पूर्वाञ्चल विश्वविद्यालयको प्रशासनिक काम भने विराटनगरमा रहेका भाडाका घरका साँघुरा कोठाबाट सञ्चालन भइरहेको छ । गोठगाउँमा शिक्षण अस्पताल सञ्चालन हुन पनि थप भएका ती बेडले सहयोग पुग्ने हुनाले विश्वविद्यालयको हित चाहने र गोठगाउँमा शिक्षण अस्पताल स्थापना भएको हेर्न चाहने खुशी हुनु स्वाभाविक
हो ।

यस्तो छ विश्वविद्यालयको इतिहास :-
२०५२ सालमा स्थापना भएको विश्वविद्यालयको लागि आवश्यक पर्ने जग्गाको लागि गोठगाउँमा ८ सय ५ बिघा जग्गा उपलब्ध गराउने निर्णय २०५५ सालमा भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलले सो निर्णय गरेको थियो ।

सो निर्णयपछि ४० करोडको लगानीमा विश्वविद्यालयको जग्गामा गोठगाउँमा भवन बन्न थाले । माओवादी जनयुद्धको प्रभावका कारण ती भवन समयमै निर्माण पूरा हुन सकेनन् । देश शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा मात्रै ती भवन पूर्ण रुपमा निर्माण भए ।

अस्पतालमा उपचार सेवा शुरु भएपछि स्थानीय खुशी भएका थिए । तर शिक्षण अस्पताल भनिएको र विश्वविद्यालयद्वारा सञ्चालित सो अस्पताल क्लिनिकजस्तै साँघुरो देखिन्छ । त्यस्तै, स्वास्थ्यकर्मीको अनियमितताका कारण सेवाग्राही पनि मारमा पर्ने गरेका छन् । स्वास्थ्यकर्मी नियमित नआउने, लामो समयसम्म नबस्ने समस्याका कारण स्थानीयहरुलाई विश्वविद्यालय सञ्चालन ‘कागलाई बेल पाके’जस्तै भएकोहो ।

२०७० सालमा प्रमिला थापा क्याम्पस प्रमुख भएर आएपछि विश्वविद्यालयमा नर्सिङ अध्ययन शुरु भएको छ । त्यसपछि कृषि लगायतका अन्य संकायमा पढाइ हुन थाले पनि अस्पतालको अवस्थामा भने खासै सुधार आउन सकेको छैन।

क्वारेन्टाइन पछि अस्पतालको चर्चा:
विश्वविद्यालय क्षेत्रमा अहिले क्वारेन्टाइन पनि सञ्चालन भइरहेको छ । नेपाली सेनाले सञ्चालन गरेको मोरङको टाँडीमा रहेको क्वारेन्टाइन गत बैशाखदेखि यहाँ सारिएकोहो । नगरपालिकाको समन्वयमा हेल्प डेस्क राखेर आरडीटी र पीसीआर परीक्षणको काम पनि त्यहाँ भइरहेको छ । तर पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा सामान्य ज्वरो आउँदा पनि सेवाग्राहीले सेवा लिन भने पाएका हुँदैनन् ।

अब अहिले अस्पताल बनाउने भनेर प्रदेश सरकार नै लागिरहेको छ । तर यसअघि स्वास्थ्य क्षेत्रमा भएका काम स्मरणीय नदेखिएकाले अस्पताल बनाउने भन्ने हल्लामात्रै हो कि भन्ने आशंका पनि स्थानीयमा छ ।

विश्वविद्यालयमा आइसोलेन बनाउन मिल्ने संरचना पनि छ, इमर्जेन्सी पनि तयार छ, खुला चौर पनि प्रशस्त छ । तर पनि अस्पताल सञ्चालनमा भने स्थानीय त्यति विश्वस्त हुन भने सकेका छैनन् । अस्पतालमा बेड थप्ने कुरा झारा टार्न मात्रै हो कि भन्ने शंका स्थानीयमा रहेको हो । यसलाई व्यवस्थित गर्ने विषयमा भने सबै लाग्नुपर्ने देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.