काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम,सरकारले इराकमा ठुलो संख्यामा रोजगारीका लागि नेपाली रहेको भन्दै त्यहाँ रहेका नेपालीको सुरक्षामा विशेष ध्यान दिन इराक सरकारलाई आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदूत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले गरेको शिष्टाचार भेटवार्ताका क्रममा गृहमन्त्री थापाले यस्तो आग्रह गर्नुभएको हो ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदूत डा.अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकको आगमनका लागि वातावरण बनाइदिन राजदूतसँग गृहमन्त्री थापाले आग्रह गर्नुभएको छ ।
राजदूत डा.अब्दुलसदाले इराकमा रहेका नेपालीको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीको महत्वपुर्ण योगदान रहेको चर्चा गर्नुभएको थियो । उहाँले आतंकवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतंकवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठुलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताउनुभयो । जवाफमा गृहमन्त्री थापाले इराकीका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफुले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
Post a Comment