विराटनगर, साउन २५ गते । रातो तारा डट कम,आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा आंद्योगिक क्षेत्रको विकासको लागि निजी र सरकारी क्षेत्रबीच तालमेल आवश्यक रहेको बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको ४५ औं बार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले एतिहासिक उपलब्धि बोकेका उद्योगको सुरक्षाका साथै अस्तित्वलाई समाप्त हुन नदिन त्यस्ता उद्योगलाई नयाँ रुपमा ढाल्ने सरकारको सोचाईरहेको स्पष्ट पार्नुभयो ।
संविधानलाई कार्यान्वयन गर्नु नै सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मण्डलले दलहरुलाई हारजित विषयभन्दा बढी संविधानलाई संस्थागत गर्नका लागि बढी अग्रसर हुनुपर्ने विषयमा जोड दिनुभयो ।
माघ– ८ गतेभित्र प्रदेश र संसदीय निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उहाँले जनताले उठाएका आधारभूत मुद्धालाई सम्बोधन गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।
६–६ महिनामा हुने गरिएको सरकार परिवर्तनको कारण मुलुकको आर्थिक सम्बृद्धि नहुने देखिएकाले राष्ट्रपति वा प्रधानमन्त्रीको प्रत्यक्ष प्रणालीको निर्वाचनको व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पूर्वी क्षेत्रको महत्वपूर्ण उपलब्धिलाई जोगाउनका लागि प्रदेश नम्बर–१को राजधानी विराटनगर बनाउने सम्बन्धमा राजनीतिक दलहरुलाई एकै ठाउँमा उभिनपर्ने विषयमा जोड दिनुभयो ।
सांसद् एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले व्यापारीहरुले कम तौंलमा सामान बेच्दा कारवाही हुने तर,नेपाल आयल निगमले कम तौंलमा तेल बेच्दा डिलर मार्फत तेल बेचिरहदा किन सरकारले कारवाही भन्दै यो विषयमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सोही अवसरमा मन्त्री मण्डलले उद्योग सङगठन मोरङका महानिर्देशक सोमनाथ अधिकारी, प्रदर्शनीस्थलका लागि लिजमा सो सङ्गनलाई मन्दिरको दुई विघा जग्गा उपलब्ध गराउनु भएका सत्यनारायण मन्दिर सञ्चालक समितिका अध्यक्ष बल्लभप्रसाद अधिकारी र प्रजिअ यज्ञराज कोइरालालाई सम्मानित गर्नुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ यज्ञराज कोइराला,उद्योगपतिद्वय किशोर प्रधान र अविनास बोहराले साधारणसभाको सफलताको कामना गर्नुभयो ।
Post a Comment