Websoft University

डिजिटल मार्केटमा रमाएका पोैरखीहरूको अनुभव



काठमाडौं,भाद्र १८ गते । मुलुकका विभिन्न विश्वविद्यालयबाट स्नातकदेखि पीएचडी पूरा गर्ने बर्सेनि करिब ७५ हजार हुन्छन् । यसमध्ये थोरैले निजी र सरकारीस्तरमा जागिर पाउँछन् । स्वदेशमा अध्ययन गर्दा रोजगारी नहुने भन्दै विदेश अध्ययन गर्न जाने वर्षमा ३० हजारभन्दा बढी छन् । विदेश वा स्वदेश जहाँ पढे पनि आफैं रोजगारी सिर्जना गर्नेमध्येका प्रतिनिधि पात्रको सफलतालाई हामीले पछ्याएका छौं ।
सूचनाको रक्षक
धरानका विजय लिम्बू (३०) ले चार वर्षअघि कमलपोखरीको इस्लिङटन कलेजबाट बीएस्सी इन इन्टरनेट नेटवर्क सेक्युरिटीको पढाइ सकाए । एक वर्ष सिस्टम एडमिनका रूपमा काम गरे । अनि उनकै शिक्षक सरोज लामिछानेसँग मिलेर साइबर सेक्युरिटीमा काम थाले । पछिल्लो समय उनी, लामिछाने र मुकुन्द पोखरेलको संयुक्त लगानीमा रिगो टेक्नोलोजी फर्म खोलेका छन् । उनी यो फर्मका सहसंस्थापक हुन् । उनलाई इन्फरमेसन सेक्युरिटीको नाइकेका रूपमा चिन्छन् । उनको टिमले १५ जनालाई रोजगारीसमेत दिएका छन् ।
यो फर्ममा काम गर्ने कर्मचारीले कम्तीमा २५ हजार रुपैयाँ तलब पाउँछन् । सानो कोठाबाट सुरु गरेको बिजनेसमा अहिले बर्सेनि एक करोड रुपैयाँभन्दा बढी कारोबार हुन्छ । सरकारी कार्यालय, बैंक, अस्पतालको सूचनाको सुरक्षा गर्न उनको टिम सधैं व्यस्त हुन्छ ।
अमेरिकाको एलेन भल्टसँग पनि सहकार्य गरिरहेको छ । सूचना ह्याक गर्नुअघि र गरिसकेपछि सुरक्षित पार्नु उनको मुख्य जिम्मेवारी हो । उनको टिमले साइबर थ्रेट र टेरोरिज्ममाथि बारम्बार अध्ययन गरिरहेको छ । ह्याकरले सूचना क्र्याक गर्ने घटना बढेपछि त्यसलाई ट्याकल गर्नु चुनौती थपिएको उनको बुझाइ छ । पछिल्लो समय सर्भर, एटीएम मेसिन, वेबसाइट र पस सिस्टममा ह्याक हुने घटना बढेको छ ।
पढाइअनुसार रोजगारी नभएको भन्दै युवा निराश हुन्छन् । उनी जागिरभन्दा आफैं रोजगारी सिर्जना गरेर खुसी छन् । ‘कलेज र युनिभर्सिटीमा सिकेको ज्ञानले मात्रै जागिर पाइँदैन,’ उनी भन्छन्, ‘आफैं ग्रो अप गरेर स्किल बढाउनुपर्छ ।’
पढ्दापढ्दै परामर्शदाता
स्याङ्जाका अनुप रेग्मी (२९) ले स्नातक तहको पढाइ नसक्दै आफैं व्यवसाय सुरु गरे । एक्सेस इन्टरनेसन एजुकेसन प्रालि दर्ता गरेर विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने व्यवसाय सुरु गरेका उनले समाजशास्त्रमा स्नातकोत्तर सकाइसके ।
योग्यताअनुसार कुन देश र कुन विषय पढ्ने भन्ने परामर्श दिन्छन् । यो कम्पनीमा चितवनका वासुदेव नेपाल र मोरङका सुमन खरेल पार्टनर छन् । पाँचको लगानीमा पुतलीसडकका कार्यालय खडा गरेर व्यवसाय सुरु गरेका उनीहरूले कम्पनीको ब्रान्ड नै लाखौंको बनाइसके । तीनै जनाको मासिक निश्चित तलब तोकेको छैन ।
मासिक वा वार्षिक कमाइ कति हुन्छ ? तीनै जनाले भागबन्डा गर्छन् । परामर्शको काममा उनीहरू आफैं खटिन्छन् । उनीहरूले मात्रै नभ्याउने भएपछि तीन जनालाई रोजगारी पनि दिएका छन् । शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्शदाताको मान्यता पनि लिइसकेका छन् । उनीहरूले जुन व्यवसाय गरिरहेका छन, यसबाट सन्तुष्ट छन् । कम्पनी सुरु गर्दा जति दु:ख पाए पनि अहिले मासिक एक लाखभन्दा बढी खर्च गरेर पनि नाफामा रहेको उनी सुनाउँछन् ।
पढ्दापढ्दै जागिर सुरु गरेका उनी काम गर्दा लगनशील र डेडिकेसन हुनुपर्ने सल्लाह दिन्छन् । जागिर नपाएर छटपटिनुभन्दा आफैंले जागिर क्रेट गर्न अनुपको सल्लाह छ । ‘अब पनि जागिरपाइन्छ ? भन्दै खोज्ने होइन,’ अनुप भन्छन्, ‘आफ्नै विशेष अवसर सिर्जना गर्नुपर्छ ।’
डिजिटल मार्केटमा रमाएका अमुनको टिम
काठमाडौं विशालनगरका अमुन थापा (२८) अमेरिकाको क्यामरुन विश्वविद्यालयबाट मार्केटिङ एन्ड कन्जुमर साइक्लोजी विषयमा स्नातक सकाएर पाँच वर्षअघि स्वदेश फर्के । उनी जुन बेला स्वदेश फर्के त्यस बेला उपभोक्तालाई चाहिने दैनिक जीवनका सामान किन्न पसलचाहनुपर्ने समस्या
थियो । उनी अमेरिका छँदा आवश्यक सामान कोठामै मगाउने बानी परिसकेका थिए । स्वदेशमा पनि त्यही सुविधा चाहन्थे । तर, पाएनन् । बजारमा सामान किन्न जाँदा घण्टौं ट्राफिक जाम । एउटा सामान किन्न जाँदा घण्टौं बिताउनुपर्ने समस्या भोगे । कुन सामानको पसल कहाँ भन्ने पत्ता लगाउन पनि सकेनन् । आफूले भोगेको समस्यालाई उनी समाधान गर्न लागे ।
उनलाई श्रीजीत राजभण्डारी र सोडन मानन्धरले सघाए । यी दुई जनालाई कम्प्युटरको ज्ञान थियो । उनीहरूले वेबसाइट बनाए । अनि वेबसाइट हेरेर सामान किनबेच सुरु गरे । यो वेबसाइटको नाम सस्तोडिल डट कम राखे । अरूले फ्याँकेको कुर्सी र टेबल जोडजाड गरेर काम सुरु गरे । ‘त्यसबेला अनलाइनबाट कसरी सामान किन्ने खासै थाहा थिएन,’ अमुन भन्छन्, ‘अहिले त बच्चादेखि बूढाबूढीसम्म अभ्यस्त भइसके ।’ आफ्नो अनलाइन हेरेर व्यापार गर्ने ६ लाख रहेको उनको दाबी छ । ब्रान्डेड सामानको फोटो र भिडियो वेबसाइटमा मूल्यसहित राखेपछि उपभोक्ताले हेरेर अर्डर गर्छन् ।
सस्तो डिलका कर्मचारीले सम्बन्धित पसलबाट लिएर उपभोक्ताको कोठामै पुर्‍याइदिन्छन् । काठमाडौंमा मात्रै नभई दुर्गम गाउँबाट समेत अर्डर आउने गरेको अमुनले बताए । सामान बिक्री गरिदिएबापत पसलेले निश्चित कमिसन दिन्छन् । यही कमिसनले ४० जना कर्मचारीलाई तलब खुवाउँछन् । कम्पनीमा कार्यरत महिला कर्मचारी महिनावारी भएपछि चार दिन बिदा दिने सुरुवात पनि गरेका छन् । उनको कम्पनीमा नौ जना पार्टनर छन् । उनी कम्पनीका फाउन्डर सीईओ हुन् । टेक्नोलोजी, लजिस्टिक, कस्टोमर सर्भिस, सोसल मिडिया ह्यान्डल गर्ने फरक टिम बनाएका छन् । सुरुवातमा १४ घण्टा खट्दा पनि दुई महिनासम्म तलब नपाएको उनको अनुभव छ । वेबसाइटमा सामान राख्न आग्रह गर्दा नमान्ने व्यवसायीहरू अहिले राखिदिन भन्दै आउने गरेको रमाइलो अनुभव पनि अमुनसँग छ ।
जागिरको अवसर नभएको भन्दै निराश नहुन युवालाई आग्रह गर्छन् । ‘मुलुकमा संविधान आइसक्यो । युद्ध पनि सकियो । राजनीतिक अस्थिरता त जहाँ पनि हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा रोजगारी छैन भन्नेले आफैं क्रेट गर्नुपर्छ ।’
अस्ट्रेलियाको सीप नेपालमा
जोरपाटीका अतित श्रेष्ठ (२९) स्वदेशमै प्लस टु सकाएर सन् २००७ मा अस्ट्रेलियामा अध्ययनका लागि हानिए । डिप्लोमा इन कमरसियल कुकरीको दुईवर्षे कोर्स सकाए । पढाइ सकाएर अस्ट्रेलियामै काम गर्नथाले । होटलमा सेफको जिम्मेवारीसम्हाले । अर्काको देशमा काम गर्नुभन्दा आफ्नै देशमा लगानी गरेर रेस्टुरेन्ट खोल्ने योजना बनाए । उनको योजनामा विद्यालयका सहपाठी सौजनमान प्रधान (३०) ले सघाए । एउटै विद्यालयमा पढे पनि प्लस टु फरक विद्यालयमा पढे । सौजनले स्वदेशमैएमबीए सकाए । पढाइ सकाएर चार वर्ष ट्राभल कम्पनीमाजागिर 
खाए । उनी पनि जागिरभन्दा आफ्नै लगानीमा व्यवसाय गर्न चाहन्थे ।
अतित पनि अस्ट्रेलियाको जागिर छाडेर नेपालआए । सौजनले पनि ट्राभल कम्पनीको जागिर छाडे । दुवैको लगानीमा काठमाडौंको पानीपोखरीमा जेनेसिस क्याफे खोलेका छन् । उनीहरू आफू पनि बिहानदेखि राति अबेरसम्म खट्छन् । रेस्टुरेन्ट सञ्चालन गर्न आठ जनालाई रोजगारी दिएका छन् । सौजन भन्छन्, ‘आफ्नो भनेको आफ्नै हुँदोरहेछ ।’
अतितले पनि विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरिरहेका छन् । स्वदेशी खानालाई परिस्कृत गरेर विदेशमा चिनाउने उनको इच्छा छ ।
तरकारी खेतीको आम्दानी समाज सेवामा
बसुन्धराकी उमा गुरुङ (३४) घरमा दुई छोराको स्याहारसुसार छाडेर एचआईभी संक्रमित बालबालिकाको हेरचाहमा लागेको आठ वर्ष भयो । चाबहिलमा कस्मेटिक पसल गरिरहेका उनलाई पत्रिकामा संक्रमित बालबालिका बिचल्लीमा भएको समाचार पढेपछि रुकुमका राजकुमार पुनसँग मिलेर उनीहरूको उद्धार गरे । चार जना बच्चाको पालनपोषणबाट सुरु गरेकी उमा र पुनले २३ जना संक्रमितलाई स्याहारिरहेका छन् । प्लस टु सकाएर प्रौढ कक्षा पढाएर समाज साक्षर बनाउने अभियानसमेत गरेकी उनी अहिले एचआईभी संक्रमित बालबालिकाको समस्या समाधानमा जुटेकी छन् ।
अरू पढाइ सकाएर जागिरको खोजीमा लाग्छन्, उनीचाहिँ समाज सेवामा जुटिन् । घरमा दुई छोरा श्रीमान् मनीषलाई जिम्मा लगाएर हरेक दिन बिहान ७ बजे उनी संक्रमित बालबालिकाको स्याहार गर्न कीर्तिपुरस्थित बेबीलाइफ होममा पुग्छिन् । साँझ परेपछि घर फर्किन्छिन् ।
संस्था सुरुवात गर्दा बच्चालाई दैनिक खुवाउन पनि समस्या भएपछि दुवैले घरबाटै खर्च गरे । अहिले सहयोगी हात पनि बढेको छ । राजकुमार र उनले अरूलाई मागेर संक्रमित पालनपोषण गर्नुभन्दा आफ्नै नियमित आम्दानीको स्रोतका रूपमा १५ रोपनी जग्गामा कृषि फर्मसमेत खोलेका छन् । तरकारी खेती र कुखुरा फार्मबाट आउने नाफाबाट बालबालिकाको उपचार, पढाउने र पालनपोषण खर्च जुटाउँछन् ।
संक्रमित बच्चा पढाउने सफलता एचआईभी शिक्षा सदनमा आठ जना शिक्षक र कर्मचारीलाई रोजगारी दिएका छन् । कृषि फर्ममा चार जनाले रोजगारी पाएका छन् ।
मन्त्रले चिनाएका इन्जिनियर
मोरङ गोठगाउँमा युवराज पौडेल (२८) ले पूर्वाञ्चल इन्जिनियिरङ कलेजबाट कम्प्युटरमा ओभरसियर सकाए । लालबन्दीका हेम श्रेष्ठ उनीसँगै पढ्थे । पढाइ सकाएर एक वर्ष भोजपुरमा शिक्षण काम गरे । पढाउने काम छाडेर उनी भिजुयल कम्युनिकेसन इन न्यु मिडिया कोर्स गर्न बेलायत गए ।
विदेश हुँदा हेमसँग बारम्बार कुरा हुन्थ्यो । चार वर्षको ब्याचलर तहको कोर्स सकाएर ०६८ मा स्वदेशफर्के । पुरानो साथी हेमसँग भेट गरे । विदेशमा पढेका ज्ञान स्वदेशमा प्रयोग गर्न चाहन्थे । हेम र युवराजले सोलुखुम्बुका कम्प्युटर इन्जिनियर अशोक र सिरहाका रोशनसँगको सहकार्यमा मन्त्र आइडिया कम्पनी दर्ता गरे । हेम इलेक्ट्रोनिक्स इन्जियर हुन् ।
रोशन कम्प्युटर एप्लिकेसन्समा मास्टर गर्दैछन् । वेबसाइट बनाउने कम्पनीको नाममा मन्त्र आइडिया चिनिन थाल्यो । वेबसाइटसँगै एप बनाउन थाले । ५० भन्दा बढी एप बनाइसके । भूकम्पका बेला अर्थक्विक नेपाल धेरैको मोबाइलमा डाउनलोड
भयो । भूकम्प जानेबित्तिकै नोटिफिकेसन आउँथ्यो । लोकसेवा नेपाल उनीहरुले बनाएकामध्ये सबैभन्दा चलेको एप हो ।
लोकसेवा तयारीमा रहेकालाई लक्षित गरेर बनाएका हुन् । यो एप्स डाउनलोड गर्ने डेढको हाराहारीमा लाख छन् । यसले गत वर्ष साउथ एसियन एम्बिलियन अवार्ड पनि जित्यो । पाठशाला, एडुनेपाल पनि चर्चित एप्स हो । उनीहरूले १० जनालाई रोजगारी पनि दिएका छन् । उनीहरू सधैं व्यस्त हुन्छन् । काम गर्दागर्दै रात परे पनि उनीहरू कैयौं रात कार्यालयमा सुत्छन् । कार्यालयमा जे पाक्छ त्यही खान्छन् । ‘कामको कहिल्यै अभाव हुँदैन,’ पौडेल भन्छन् ।
उनीहरूले काम पनि बाँडफाँड गरेका छन् । कोही सर्भर हेर्छन् । कोही वेबसाइट । एन्ड्रोइडको डेभलपमेन्ट र मेन्टिनेन्स, आईओएस एप निर्माणमा काम पनि कसले गर्ने तोकेका छन् । प्रत्येकले पाँच लाख लगानी गरेका छन् ।
उनीहरूको कामको प्रशंसा गरेर विदेशबाट समेत रोजगारी अफर आउँछ । तर, उनीहरू आफ्नै कम्पनीमा रमाएका छन् । उनीहरूले बनाएका डेढ सयभन्दा बढी वेबसाइटको मेन्टिनेन्सदेखि नयाँ–नयाँ एप बनाउँदैमा उनीहरूलाई फुर्सद छैन । ‘अर्काको काम गरेर कमाउनुभन्दा आफैं लगानी गरेर बरु थोरै कमाउनु बेस,’ पौडेलले भने । कान्तिपुर अनलाइन 
२०७३/०५/१८,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.