{फायल फोटो}
काठमाण्डौं,पुस ७ गते । रातो तारा डट कम,१४ जना पदाधिकारी रहनेगरी नेपाली काँग्रेसको विधानमा सहमति भएको छ । केन्द्रीय समितिको हिजो साँझ बसेको बैठकले १४ जना पदाधिकारी राख्नेगरी विधान संशोधन गर्ने प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्तावसहितको संशोधित विधान महासमिति बैठकमा अनुमोदनका लागि लगिनेछ । महासमिति बैठक विहान ११ बजेका लागि बोलाईएको छ ।
सहमतिअनुसार कांग्रेसमा अब एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, ८ जना सहमहामन्त्री र कोषाध्यक्ष एकजना रहनेछन् । कोषाध्यक्षबाहेक १३ जना प्रत्यक्ष निर्वाचित् हुनुपर्नेछ भने सहमहामन्त्रीहरु संविधानले व्यवस्था गरेको ‘क्लस्टर’को आधारमा निर्वाचित हुनेछन् । शीर्ष नेताहरुको तहमा सहमति भएपछि केन्द्रीय समितिबाट नयाँ सहमति पारित गरिएको हो ।
त्यस्तै अब काँग्रेसको केन्द्रीय समिति १ सय ६७ सदस्यीय हुने सहमतिको भएको नेता जीवन परियारले सीआईएनलाई जानकारी दिनुभयो । विधानमा सहमति जुट्न नसक्दा पुस ३ गते नै सम्पन्न हुनुपर्ने महासमिति बैठक अझै सकिएको छैन । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संविधानले व्यवस्था गरेका सबै प्रक्रिया पूरा गर्ने राजनीतिक दलकारुपमा कांग्रेस पहिलो भएको दाबी गर्नुभयो ।
विधानको छपाइ भएपछि महासमिति बैठकमा पेस गरिने भन्दै उनले महासमितिमा पर्याप्त छलफल गरेरमात्रै पारित गरिने पनि बताउनुभयो । यसअघि, हिजो बिहान बसेको महाममिति बैठकमा बोल्ने बहुसंख्यक प्रतिनिधिले तत्काल विधान उपलब्ध गराउन माग गरेका थिए । यस्तै, महाममिति बैठकमा हिन्दुराष्ट्र बनाउनुपर्ने मागसहितको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । बन्दसत्रमा बोल्दै डडेल्धुराका सभापति कर्ण मल्लले महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरेको हिन्दुराष्ट्रको प्रस्ताव महासमितिबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।
Post a Comment