विराटनगर, भदौ २ गते । रातो तारा डट कम,
भारतका बाढी पीडितको निरन्तरको आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयको राजश्व संकलन पाँच दिनदेखि प्रभावित बनेको छ ।
गत शनिबार र आइतबार गएको बाढीले क्षति पुर्याएको र सरकारले बाढी पीडितलाई कुनै पनि सहयोग नगरेको भन्दै भारतको जोगवनीमा बाढी पीडितहरुले निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् ।
बाढी पीडितलाई राहत र बाढीका कारण मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको माग राखेर आन्दोलन भइरहेको हो । जोगवनी लगायतका स्थानका बाढी पीडितहरुको प्रदर्शन र नारावाजीका कारण भारतबाट नेपालतर्फ आउनु पर्ने मालबहाक सवारी साधन भारतीय भुमिमै अड्किएका छन्।
मालबहाक सवारी साधन नेपाल आउन नसक्दा विराटनगर भन्सारको काम कारवाही समेत प्रभावित बनेको छ । भन्सार अधिकृत चूँडामणि कट्टेलका अनुसार शनिबार यता केही फलफुलका गाडी बाहेक अन्य मालबहाक सवारी साधन भारतबाट आउन सकिरहेका छैनन् ।
भारतबाट दैनिक चार सय बढी मालबहाक सवारी साधन विराटनगर भन्सार हुँदै नेपाल भित्रने गरेका थिए । जोगवनीको आन्दोलनका कारण खाली मालबहाक गाडी समेत भारततर्फ जान सकिरहेका छैनन् । अधिकृत कट्टेलका अनुसार मालबहाक सवारी साधन आवागमन प्रभावित हुँदा भन्सार कार्यालयले राजश्व संकलन गर्न सकिरहेको छैन ।
भन्सार कार्यालयले दैनिक सात करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गर्दै आएको थियो । भारतमा लोड भएका मालबहाक गाडी नेपाल आउन नसक्दा अहिले सम्म ३५ करोड बढी राजश्व गुमेको भन्सार कार्यालयले जनाएको छ ।
Post a Comment