Websoft University
August 2025


काठमाडौँ साउन २३ गते । कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल नेपाल आएका छन् ।  

व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आएको  आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए। मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्।  नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल आजै फर्किने कार्यतालिका रहेको गौतमले बताए। 

श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा) को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ। दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबारदेखि सुरू भएको उक्त महायज्ञ २४ गते शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ। श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ। 


काठमाडौं, साउन २३ गते | राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्। हिजो साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

३१औं विश्व आदिवासी दिवस कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्। अध्यक्ष दाहालले भने, “कृत्रिम बौद्धिकता (एआई) र प्रविधि प्रयोग गरेर आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई जोगाउन र विश्वभर चिनाउन सकिन्छ।

 उदाहरणका लागि, नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा छ – यो नै प्रविधिको सही प्रयोग हो।” उनले यो वर्षको विश्व आदिवासी दिवस आदिवासी समुदायको भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर मनाइँदैछ भन्ने जानकारी पनि दिए। यस्तो कार्यक्रममा सहभागी भएर आदिवासी पहिचानलाई सम्मान दिन सकिन्छ। संयुक्त राष्ट्रसंघले सन् १९९४ मा अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। 

नेपालमा पनि यति बेलादेखि नै यो दिवस मनाउँदै आइएको हो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको बताए। यो अवसरलाई सरकार र सम्बन्धित निकायसमक्ष आवाज पु–याउने मौका पनि भएको बताए। 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार, आदिवासी समुदाय धेरै समयदेखि अधिकारका लागि संघर्ष गरिरहेको छ। उनले भने, “विश्वका ८०% खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित छन्।” राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका ठूलो रहने बताइन्।

 विकासका नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित भइरहेका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिइन्। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनिसकेको र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यही हैसियत दिलाउने प्रयास भइरहेको बताए। 

कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। त्यस्तै, थारु कल्याणकारिणी सभा (थाकस) ले थारु परिकारहरू प्रदर्शन ग¥यो। थारु खानामा घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोलजस्ता परिकार प्रदर्शनमा राखेका थिए। 

थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका परिकार प्रस्तुत गरिएको थियो। साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो। कार्यक्रमलाई प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनले संचालन गरेका थिए ।


विराटनगर सउन २२ गते । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई 'क्रेडिट आवर'को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि अनुसारको डिग्री समेत प्राप्त गर्ने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

विश्वस्तरीय शिक्षा दिँदै सोहि अनुरुपका जनशक्ति उत्पादन गर्नका लागि केयूसँगको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास ब्यक्त गर्दै उहाँले केयूले शिक्षक तथा विद्यार्थीहरुको स्तर र मागका सम्बन्धमा त्यस्तै अभिभावकहरुको चाहना र विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्भेक्षण गर्ने छ । त्यसपछि आवश्यकता आधारमा सोहि अनुसारको तालिम प्रदान गर्ने एभरेष्टले जनाएको छ ।

समझदारी पत्रमा आज एभरेष्टका तर्फबाट प्रिन्सिपल पुरी र केयुका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुईटेलले हस्ताक्षर गर्नुभएको छ । एभरेष्टको शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने मान्यताका साथ यस विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्रका संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

कम्प्यूटर शिक्षाका लागि बेलायतको कोर्ष डिजी स्कुल, आविश्कार तथा अन्वेषणका लागि कारखाना, विद्यार्थीलाई खुसी राख्न ह्याप्पीनेस करिकुलम, माई सेकेण्ड टिचर, रातो बंगला फाउन्डेसनलगायतका संस्थाहरुसँग सहकार्य गर्दै सफल भएका अभ्यासहरूलाई अवलम्बन गर्दै आएको छ ।

केयूसँगको समझदारीसँगै विद्यालयका करिब ६० जना शिक्षकहरुको अध्यापन क्षमतामा थप विकास हुने र उहाँहरुले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्रिन्सिपल पुरीले बताउनुभयो । एभरेष्टले शैक्षिक वातावरणसँगै भौतिक संरचनाहरु समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लगेको छ ।


विराटनगर साउन २१  गते । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताउनुभएको छ ।

कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उहाँले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको उहाँले बताउनुभयो ।

उहाँले विश्वभरका राष्ट्रहरुलाई मित्रवत अवस्थामा राख्दै सबैबिच सहकार्यको भूमिका निर्वाह गराउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा विश्वलाई केन्द्रित भएर साझा समस्याको विषयमा छलफल गरि समाधानको उपाय खोजिने समेत चर्चा गर्नुभयो ।

आज विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको कोशी प्रदेशका युवा विद्यार्थीले उठान गर्ने विषय र दिने सुझावले विश्वको ध्यान खिचोस भन्ने शुभकामना समेत दिनुभयो । उहाँले अहिले भइरहेको शक्ति राष्ट्रहरु बिचको प्रतिष्पर्धा, दुई शक्ति राष्ट्रबिचको नेपालको अवस्था, जलवायु परिवर्तन, मानव अधिकारका क्षेत्रका सवालमा यस अभ्यासमा घनिभूत छलफल गरि सांकेतिक रुपमा नै भएपनि महत्वपूर्ण सुझाव दिन सकोस् भन्ने कामना गर्नुभयो ।

यो सँगै विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा आज देखि संयुक्त राष्ट्रसंघको महासभाको तीन दिने नमूना अभ्यास शुरु भएको छ । यस्तै उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका विद्यालयका प्रीन्सीपल टिकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्बन्ध, नियमहरुका विषयमा जानकार बनाउने लगायतका उद्देश्य रहेको बताउनुभयो ।

ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको तीन दिवसीय कार्यक्रममा आज पहिलो दिन संयुक्त राष्ट्रसंघको महासभामा पालना गर्नुपर्ने नियम तथा आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको छ । नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका ३३ जना विद्यार्थीहरु विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि छन् ।

उनीहरुले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवर्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेण्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।


बिराटनगर साउन २१ गते | मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । 

उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ । 

कानेपोखरी ६ का रोमन पराजुली समेत ४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश सरकार, कानेपोखरी गाउँपालिका, गाउँपालिका कार्यपालिकाको कार्यालय, पालिका अध्यक्ष राजमती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध कानेपोखरी ६ रमाइलोका रोमन पराजुलीसमेत चार जनाले सर्वोच्च अदालतमा २०८१ फागुन १३ गते मुद्दा दर्ता गरेका थिए । 

सो मुद्दामा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशले २०८१ फागुन १५ गते कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा छलफललाई निरन्तरता दिएका थिए । यस्तै २०८१ चैत २० गते न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलाशले अन्तरिम आदेश जारी नहुने र रिट निवेदनलाई अग्राधिकार दिने आदेश गर्यो ।

कानेपोखरी गाउँपालिकाको गाउँसभाले २०८० वैशाख १७ गते कानेपोखरी ६ स्थित रमाइलो बजारमा रहेको प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो । भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गरेका थिए । जसमा भवन सार्ने पक्षमा २७ र भवन हाल रहेको स्थानमा यथावत राख्ने पक्षमा ७ जनाले मतदान गरेका थिए । केन्द्र स्थापनाको लागि भौंसाबारीमा पालिकाले १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो ।

सोही निर्णयको आधारमा २०८० माघ २९ गते कोशी प्रदेश सरकारले प्रशासकीय भवन सार्ने पालिकाको निर्णयलाई स्वीकृत गर्दै संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय सरकारले २०८१ पुस १६ गते सो निर्णयको अनुमोदन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा निवेदन परेको थियो । 

गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरद्धमा एमाले मोरङका तत्कालिन जिल्ला सदस्य नविन पौडेलको नेतृत्वमा संघर्ष समिति नै बनेको थियो । कार्यपालिकामा एमालेकै बहुमत पक्षले केन्द्र सार्ने निर्णय गरेपछि भने पौडेललगायत २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका थिए । यसरी राजीनामा दिनेमा गाउँ कमिटी सचिवालय सदस्य तथा ६ नम्बरका वडाध्यक्ष खड्गबहादुर बस्नेत, नेताहरु डिल्ली फुयाँल, अशोक फुयाँललगायत थिए ।

त्यसबेला पौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध संघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयको अधीनमा नआएसम्म पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यबाट राजीनामा दिएको बताएका थिए । 


काठमाडौं साउन २० गते । सीएससी ग्लोबल नयाँ बानेश्वरले साउन २७ गते मंगलबार देखि  साउन ३१ गते सम्म,क्यानाडा एजुकेसन फेयर आयोजना गर्ने भएको छ । पछिल्लो समय विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रम बढिरहेका बेला सहि सुचना र विद्यार्थीहरुलाइ सहज बनाउन एजुकेसन फेयर आयोजना गर्न लगिएको म्यानेजर बिद्या बस्नेतले जानकारी दिईन ।

फेयर बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म नयाँ बानेश्वरको अफिसमा सन्चालन हुनेछ । क्यानाडा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला क्यानाडाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उद्देश्यले फेयर आयोजना गर्न लागेको अनुप अधिकारीले जानकारी दिए ।

फेयरमा  शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगाएतका विषयमा सहि सुचना पाउनेछन् । सहभागि विद्यार्थीहरुले सो दिन  बिभिन्न उपहारसमेत पाउने छन् । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।


विराटनगर साउन १७ गते |  गणेश लम्साल- कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदी प्रत्येक शुक्रबार अपराह्न उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन । उनी  भोलि शनिबार कहाँ र कसरी श्रमदान गरिन्छ , को–को सहभागी हुन्छन भन्ने विषयमा उपकुलपतिको स्वीकृति लिन्छिन । 

त्यसपछि सूचना ‘वाट्सएप’मार्फत सबै पदाधिकारी, विभागीय प्रमुख, कर्मचारी, होस्टल वार्डन तथा सुरक्षा इन्चार्जहरूलाई पठाउँछिन । सूचना अनुसार भोलिपल्ट शनिवार विहानै उपकुलपति, रजिष्टार , डिन , परिक्षा नियन्त्रक , विभागिय प्रमुखहरु ऋनि प्राध्यापक, शिक्षक , प्रशासन प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरू हातमा हँसिया, फरुवा, कुटो , खन्ती र दाँते बोकेर विश्वविद्यालयको तोकिएको स्थानमा आईपुग्छन । अनि सबै सामुहिक रुपमा  सरसफाई र सौंदर्यीकरण गर्नमा जुटछन ।

मनमोहन प्राविधिक विश्वविद्यालयको बुढीगंगा ४ स्थित केन्द्रिय कार्यालयको प्रांगणमा आजकल प्रत्येक शनिबार विहान यस्तै अनौठो दृश्य देख्न सकिन्छ । शनिवार बिदाको दिन भएपनि यहाँका पदाधिकारी , कर्मचारी र विद्यार्थीहरू बिहानको समय ‘मर्निङ वाक’ हैन, ‘विश्वविद्यालय क्लिनिङ’ र ‘ब्युटिफिकेसन’मा खर्च गर्नथालेका छन । स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राई भन्छन्, ‘सामुहिक श्रमदानले शरीर चलायमान हुन्छ, सहयोगी भावना बढ्छ र आफनो विश्वविद्यालय हो भन्ने  माया पनि पालाउने रहेछ ।’  

उनीहरु हरेक शनिवार समुहमा कहिले उपकुलपतिको कार्यालय, कहिले स्कुल अफ इन्जिनियरिङ, त कहिले स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजीको परिसर अनि कहिले कर्मचारीको निवास र विद्यार्थीको छात्राबास अगाडीपछाडी  सरसफाई गर्छन र वृक्षारोपण र फूलबारीको गोडमेल गरेर सौंदर्यीकरण गर्छन । ‘आफ्नो कार्यस्थल र बसोबासको ठाउँ आफैँले सफा गर्दा माया र अपनत्व झनै बढ्ने रहेछ ’ उपकुलपति कार्यालयका वरिष्ठ लेखा अधिकृत सुजन भुर्तेल श्रमदानको अनुभव सुनाउँछन ।

 प्रशासन प्रमुख सुवेदीका अनुसार प्रत्येक शनिबार श्रमदानका लागि फरक फरक प्लटको छनोट गरिन्छ । त्यहाँ विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रजिष्ट्रार, डिनदेखी  कर्मचारीहरु परीक्षा नियन्त्रक, प्राध्यापक, शिक्षक, लेखापाल, चौथो तहका कर्मचारी, चालक, विद्यार्थी, र सुरक्षा टोली समेतसामूहिक रूपमा श्रमदानमासहभागीहुन्छन ।  

विश्वविद्यालयले श्रमदानका लागि आवश्यक उपकरण, फुल , फल र रुखका विरुवाहरु जुटाईदिन्छ र सहभागीहरूलाई चिया, बिस्कुट र पानी उपलब्ध गराउँछ ।

‘प्राविधिक विश्वविद्यालय भनेर हैन गरेर देखाउने संस्था हो । त्यसैले आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने सोचले हामीले यो अभ्यास सुरु गरेका हौं उपकुलपति डा. सुवासश्री पोखरेलले भने।


विराटनगर साउन १७ गते |  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताएका छन् ।

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । ‘

लोकतन्त्रको पर्यावाची नै कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई युवा माझ लिएर जानुपर्छ । कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्छ । लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी छ ।’

पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए । 

‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, संगठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’

जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । 

अहिले अरु पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरु पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’

त्यस्तै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझावसमेत दिए । उनले अरु पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउने र देशमा देखिएका समस्याबारे छलफल गर्न सुझाव दिएको समेत बताए । ‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन ।

 उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’

कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्यसमेत रहेका नेपाली कांग्रेस कोशीका उपसभापति रमेशजंग रायमाझी, सहमहामन्त्री डा. प्रमिला गच्छदार, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सहसचिव सञ्जय मण्डल, महानगर समितिका सभापति दीपक चापागाईं, नेता नेता चुमनारायण तब्दार, चेतराज रेग्मी, देवचन्द्र घिमिरे, केशव गिरी, महिला संघकी केन्द्रीय सदस्य डा. सीता घिमिरे, वडा सभापति राजकुमार तब्दार, सचिव

लगायतले देशको हरेक राजनैतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब आर्थिक परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले कांग्रेसभित्रको वैमनस्यताले विगतमा धेरै स्थानमा कांग्रेस पराजित हुनुपरेको स्मरणसमेत गरे ।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्य नखबहादुर खड्का, सुरेश तिम्सिना, सियाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.