Websoft University

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल


काठमाडौं । रातो तारा डट कम, नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो । 

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताउनुभयो । यो असमानता भएको पनि उहाँको भनाई थियो । 

अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको पनि धारणा राख्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमण प्रति लक्षित गर्दै महासचिव पोखरेले यस्तो बताउनुभएको हो । प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको बताउनुभयो । 

केपी ओली नेतृत्वको सरकार हुँदा मुलुकमा शोधनान्तर स्थिति राम्रो अवस्थामा रहेको, विदेशी मुद्राको सञ्चिति ११ महिनाको बस्तु आयात धान्न सक्ने अवस्थामा रहेको भन्दै उहाँले अहिले शोधनान्तर स्थिति कमजोर भएको, बस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति केवल ६ महिनालाई मात्र पुग्ने अवस्थामा झरेको भन्दै अर्थव्यवस्थालाई कमजोर बनाइएको बताउनुभयो । वर्तमान गठवन्धनले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक अवस्था कोभिडकालमा भन्दा कमजोर भएको उहाँको विश्लेषण थियो ।

केशरजंग रायमाझी गद्दार हुन् भन्ने विषयमा सवैको एकमत रहेको स्मरण गर्दै नेपाली काँग्रेससँग संघर्ष गर्नुपर्नेहरु नेपाली काँग्रेससँग नै मिल्न जाँदा त्यो गद्दारी हो वा होइन भनेर पनि उहाँले प्रश्न गर्नुभयो । जसका विरुद्द लड्न भनेर जनमत प्राप्त गर्यो, त्यसैको सेवामा जुट्न गएकाहरुले जनमतको अपमान गरेको उहाँको भनाई थियो । 

नेपाली काँग्रेसलाई मकै बारीमा उम्रिएको झारसँग तुलना गर्दै महासचिव पोखरेलले त्यस्तो झार उम्रिन कुनै मेहनत आवश्यक नरहेको धारणा राख्नुभयो । त्यस्तो झारले मकैलाई हानी पुर्याउने भएका कारण गोडमेल गरेर फ्याँक्ने गरिएको भन्दै राजनीतिको त्यस्ता झारहरुलाई पनि आगामी निर्वाचन मार्फत फ्याक्नु पर्ने उहाँको भनाई थियो । 

नेपालमा नेकपा एमालेको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको अवधारणा विस्तार हुँदै गएकोमा अहिले त्यसलाई संकुचित बनाउन खोजिएकाले त्यसका विरुद्दमा जनताको विचमा पुगेर जानकारी गराउन पनि महासचिव पोखरेलले आग्रह गर्नुभयो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था अहिले वृद्दि हुँदै चार हजार पुगेको छ । नेकपाकै नेतृत्वको सरकारले अगाडी बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान सरकारले असफल बनाउन खोजिरहेको छ । यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति पनि वर्तमान सरकारको खासै चासो देखिएको छैन । त्यसका विरुद्दमा नेकपा एमाले उभिने उहाँको भनाई थियो । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन पनि क्रान्ति नै भएकोले आगामी निर्वाचनलाई चुनौतिका रुपमा लिएर त्यसमा सफल हुनेगरी अगाडी बढ्न नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आव्हान गर्नुभयो । उहाँले समाज वदल्ने हो भनें चुनावलाई प्रतिष्ठाको विषय बनाउनु पर्ने भन्दै वर्ग संघर्षको मोर्चा अहिले चुनावी मोर्चामा फेरिएको बताउनु भएको हो । 

स्थानीय तहको निर्वाचनको परिणामले साँगठनिक अराजकता र दक्षिणपन्थी अवसरवाद नेकपा एमालेमा पनि केहि मात्रामा भएपनि देखिएको भन्दै त्यसलाई आगामी निर्वाचनमा निमिट्यान्न पार्नुपर्ने महासचिव पोखरेलको भनाई थियो । व्यक्तिका लागि नभई पार्टीको तर्फबाट निर्वाचनमा होमिनु पर्ने भन्दै उहाँले सूर्य ध्वजावाहक उम्मेदवार हार्दा पार्टी हार्ने र आफूले पनि हार्ने कुरालाई मनन गरेर सोही अनुरुप निर्वाचनमा जुट्न उहाँले निर्देशन दिनुभयो ।  

नेकपा एमालेका महासचिव पोखरेलले अहिलेको नेपाली राजनीति श्रमजीवि पक्षिय नरहेको भन्दै श्रम गर्नेहरु भन्दा श्रम खानेहरु सम्मानित अवस्थामा रहेको बताउनुभयो । जवसम्म यो परिस्थीति परिवर्तन हुँदैन तवसम्म राज्यले उन्नती गर्न नसक्ने उहाँको भनाई थियो । पुँजिवादले एकपटकको श्रमिक सँधैको श्रमिक बनाउन चाहने भन्दै सर्वहारा वर्ग जन्माउने नै पुँजिवादले हो भन्नुभयो । आजको श्रमिक भोलीको रोजगारदाता र उद्यमी हुन सक्ने भन्दै त्यसमा राज्यले मद्दत गर्नुपर्ने र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो । 

नेपालको राजनीति सही बाटोमा नरहेको भन्दै महासचिव पोखरेलले तीनवटा ठूला राजनीतिक परिवर्तन पछि पनि अवस्था नेकपा एमालेले चाहेजसरी सही ठाउँमा आइनपुगेको धारणा राख्नुभयो । नेकपालाई बलियो पार्टी बनाउन खोजिएपनि त्यो केवल मोर्चा जस्तो मात्र बनेको र मोर्चाले विश्वका कुनै पनि देशमा परिवर्तन नभएको विचार प्रकट गर्नुभयो ।

श्रमजीवि वर्गलाई संगठित गर्दै, एकतावद्द गर्दै सवै श्रमजीवि वर्गको साझा संगठनका रुपमा जिफन्टलाई लैजानु पर्ने उहाँले बताउनुभयो । असंगठित रुपमा रहेकाहरुलाई संगठित गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम आन्दोलनमा अझ बलियोसँग जोड्न आवश्यक रहेको उहाँको भनाई थियो । ह्वाईट कलर र व्लू कलरका नाममा श्रमिकलाई विभाजित गर्ने काम गरिएको भन्दै उहाँले अलग अलग कित्तामा विभाजित हुँदा त्यसले श्रम आन्दोलनलाई कमजोर बनाउने धारणा राख्नुभयो । 

जिफन्टलाई यसबीचमा विभाजन गर्ने प्रयास गरिएपनि एकढिक्का राख्न सकेकोमा उहाँले धन्यवाद पनि दिनुभयो । नेकपाको एकताका वावजूद परिस्थीतिको आँकलन गरेर जिफन्टलाई छुट्टै संगठनका रुपमा राखेर विभाजन हुन नदिई यसको नेतृत्वले दुरदर्शी काम गरेको भन्दै महासचिव पोखरेलले प्रशंसा पनि गर्नुभयो ।   

बन्द सत्रमा जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी चारबर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चारवर्षको साँगठनिक प्रस्ताव टेवुल गर्नुभयो । महाधिवेशनमा देशभरीबाट जिफन्टका झण्डै ५ सय प्रतिनिधि सहभागि छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.