Websoft University

इलाममा हतियार सहितको सगठित ग्याङले काठ तस्करी गर्दै


इलाम, पुस १२ गते । रातो तारा डट कम,
गत साल असोज २८ गते माइखोलामा भएको डुङ्गा दुर्घटना उद्दारमा आएको प्रहरीले ट्रयाक्टरसहित ठूलो परिणामा काठ पक्रियो। दुर्घटना भएको मौका छोपी काठ चोरीनिकासी गर्न लागेका तस्कर र प्रहरीबीच जम्काभेट नै भएको थियो।

गत वर्षकै चैत १३ गते चुलाचुली गाउँपालिकाको चपेटीमा दक्षिणी सेक्टर वन अधिकृत रितेषभूषण बस्नेत नेतृत्वको टोलीले १३७ क्युफिट चिरान काठ बरामद गर्‍यो। २८ वटा साइकलमा रतुवाको किनार हुँदै झापातर्फ काठ लग्दै गरेका करिव ८० जनाको समूहले वन रक्षकको समूहलाई आक्रमणसमेत गरे। उक्त घटनामा वन रक्षकहरूले सात राउन्ड हवाई फायर गर्दा पनि केही नलागेपछि झापाको बेलडाँगीबाट सशस्त्र प्रहरी बल बोलाइयो। त्यसपछि तस्करहरू साइकल र काठ छाडेर भागेका थिए।

चुलाचुली क्षेत्रबाट झापाको दमकमा काठ पुर्‍याउन सहज भएका कारण तस्करहरुले चोरी निकासीका लागि यो क्षेत्रलाई रोजेका सेक्टर वन अधिकृत बस्नेतले बताउँछन्। गत वर्ष जिल्ला वन कार्यालयको टोलीले चुलाचुली गाउँपालिका–१ को कमल सामुदायिक वनभित्र अवैध रुपमा काटिएका १२२ वटा सालका ठुटासहित ५४ वटा विभिन्न नाप साइजका एक हजार नौ सय ४१ क्युविक फिट काठ वरामद गरेको थियो। सोही दिन नै हात्तीलेदा सामुदायिक वनबाट ७१ थान सालका ठुटा र ३४ थान गोलिया, एक हजार ६ सय ९७ क्युविक फिट काठ बरामद गरिएको थियो।

भौगोलिक विकटता र झापासँग जोडिएको सीमानाको फाइदा उठाउँदै

इलामको दक्षिणी क्षेत्र चुलाचुली भौगोलिक रुपमा विकट भएका कारण तस्करहरुले सुरक्षित मानेका हुन सक्छन्। विगतमा पनि यस क्षेत्रबाट ठूलो परिमाणमा काठ तथा गोलियाहरु झापा लगायतका क्षेत्रमा तस्करी हुने गरेको थियो। चुलाचुली क्षेत्रमा तस्करी नियन्त्रणका लागि जिल्ला वन कार्यालयसँग भएको स्रोत साधन अधिकतम परिचालन गरी रोक्ने प्रयास गरे पनि संगठित रुपमा हातहतियार सहित तस्करी भइरहेका कारण सफल हुन नसकेको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ बताउँछन्।


चुरेमा पछिल्लो समय यस्ता घटना सामान्य बन्दै गएका छन्। वन रक्षकलाई आक्रमणको खतरा बर्षेनी बढ्दो छ। त्यसैले यस्तो अवस्थामा अहिलेको जनशक्तिले चुरेको वन रक्षा गर्न कठिन हुने श्रेष्ठको भनाइ छ। हतियारसहितका वन रक्षकको फौज चुरे क्षेत्रमा पर्ने वनमा मात्र खटाउने गरिएको छ।

वन रक्षक ९जोसँग हतियार हुँदैन० पनि इलाममा दरबन्दी अनुसार छैन। इलाममा रहेको ४६ जनाको वन रक्षकको दरबन्दीमा ३९ जनाले मात्र काम गरिरहेको श्रेष्ठको भनाइ छ। चुरेको वन सुरक्षाका लागि निकै ठूलो सुरक्षा फौज आवश्यक पर्ने उनी बताउँछन्। ‘अहिलेको जनशक्तिले चुरेको वन सुरक्षा सम्भव छैन’, उनले भने।

इलामको वन तस्करीका लागि झापाको दमक, बिर्तामोडसहितका सहरमा मात्र नभइ भारतसम्म तस्करहरूको ठूलो सञ्जाल रहेको दक्षिणी सेक्टर वन अधिकृत रितेषभूषण बस्नेत बताउँछन्। ‘वनमा भेटिएका कामदार मात्र हुन्ु, उनी भन्छन्। तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र झापा पुर्‍याउने छुट्टै समूह प्रयोग गर्ने गरेको उनको भनाइ छ।


तस्करहरूले झापामा बसेर लगानी गर्ने गरेको बस्नेतको भनाइ छ। जति केरकार गर्दा पनि पक्राउ परेकाहरूले मुख्य तस्करको पहिचान नखुलाउने उनले बताए। अघिल्लो वर्षको चैतसम्म जिल्ला अदालत इलाममा नौवटा वन तस्करीका मुद्दामा ३० जनाविरुद्ध उजुरी छ। अधिकांश मुद्दा चुलाचुली क्षेत्रका छन्, अभियुक्त भने चुलाचुली र झापा क्षेत्रका रहेका जिल्ला वन कार्यालयको भनाइ छ।

१० हजार बिगोमाथिको वन मुद्दा जिल्ला अदालतले हेर्ने गरेको छ। जिल्ला वन कार्यालयमा १० हजारसम्म बिगो भएका १२ वटा मुद्दा परेका छन्। तीमध्ये सातवटा मुद्दा फैसला भएका छैनन्। यी सबै मुद्दामा पनि झापाको खुदुनाबारी, इलामको चुलाचुली, माइ नगरपालिका लगायतका बासिन्दाविरुद्ध छन्।


माइखोलाको बगरमा अहिले हरिया रूखका गोलिया सुकाएर राखेको देखिनु सामान्य बनेको छ। इलामको महमाई र दानाबारीका जंगलका काठ झापाको सतासीधाम हुँदै झापा, मोरङ र भारतसम्म पुर्‍याउने गरिएको छ। वन तस्करले माइ नगरपालिकाको बाटो हुँदै विर्तामोडसम्म काठ पुर्‍याउने गरेका छन्।

गत भदौ २९ गते दक्षिणी सेक्टर वन कार्यालय अगाडिको बाटो हँदै लगिदै गरेको काठ सहितको गाडी वन रक्षकले नियन्त्रणमा लिए। काठ तस्करीमा प्रयोग हुने यातायातका साधन विना कागजपत्र तथा चोरीका हुने गरेको बस्नेत बताउँछन्। महमाई र बाँझोका बीचमा पर्ने तीन दोभानेबाट कुल्लीको सहायतामा झापाको तोपगाछीको बाटोबाट पनि काठ तस्करी हुने गरेको पाइएको छ।


तस्करको बारेमा जानकारी दिँदा ज्यान नै जाने खतरा बढेपछि स्थानीयस्तरमा सुराकीहरु राख्न समेत समस्या छ। चुलाचुलीका तस्करी नियन्त्रणमा १र२ वटा सामुदायिक वनबाहेक अन्य निष्क्रिय रहेको सेक्टर वन अधिकृत बस्नेतले बताए। उनले भने ‘ सामुदायिक वनहरु नै तस्करी रोक्न खासै सक्रिय छैनन्। स्थानीय युवाहरुलाई खटाउने प्रयास गरिए पनि उनीहरुको जीउ धनको खतरा देखियो।’

केही वर्षअघि काठ तस्करीको सूचना दिने एक स्थानीयको घर खाद्यान्न र लताकपडा तस्करहरुले जलाइदिएका थिए। केही समयअघि काठ तस्करी अनुगनमा गएको सेक्टर वनको टोलीलाई लक्षित गरी तस्करहरुले एम्बुस थापेका थिए। एम्बुसमा परेर कार्यालयको गाडीमा क्षति पुगेको थियो।

सेक्टरको टोली र तस्करबीच दैनिकजसो नै भिडन्त हुने गरेको छ। सामुदायिक वनबाट वन कार्ययोजना विपरीत अवैध रूपमा सालका रूख फडानी कार्य तीव्र छ। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो भएको समेत पाइएको बस्नेतको दावी छ। थाहा खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.