Websoft University
Latest Post


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म उपभोक्ता आफैं सचेत हुँदैन तबसम्म उपभोक्ता अधिकार स्थापित हुँदैन । गुणस्तर, तौल र मूल्यमा हुने ठगी रोकिँदैन ।’

बजार अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परे पनि समन्वयका अभावमा अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले अन्य सरकारी निकायका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्दा समस्या देखिएको उल्लेख गर्नुभयो । ‘ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको जिम्मेवारी तोकेको छ । गुणस्तर, नापतौल, प्रशासनलगायतका सरकारी निकायका प्रतिनिधिले आलटाल गर्दछन्,’ उहाँले थप्नुभयो, ‘जसले गर्दाअनुगमन प्रभावकारी भइरहेको    छैन ।’

सामानको गुणस्तर, उपभोग्य मिति, मूल्य सबै हेरेर मात्रै खरिद गर्ने बानीको विकास गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म उपभोक्ता भएकाले उपभोक्ताको हक अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जन्मेदेखि नमरुञ्जेलसम्म सबै नागरिक उपभोक्ता हुन् । स्वयम् उत्पादक र विक्रेता पनि उपभोक्ता हुन् । किनभने उनीहरूले आफूले उपभोग गर्ने कुनै न कुनै सामान खरिद गरेकै हुन्छन्,’ मेयर कोइरालाले भन्नुभयो ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, अधिकारकर्मी भारती उपाध्याय, आयोजक संस्थाकी अध्यक्ष शोभा निरौला, उपाध्यक्ष भूमिका गिरी, सचिव चूडा ठकुरीलगायतले उपभोक्ता अधिकारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । 

एकदिने प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईले खाद्य स्वच्छता र गुणस्तर नियमन, गुणस्तर तथा नापतौलसम्बन्धी आधारभूत विषयमा जानकारी गराउनु भएको थियो । उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रममा एक सय जना महिला सहभागी भएको आयोजक संस्थाकी सचिव चूडा ठकुरीले जानकारी दिनुभयो ।


विराटनगर, बैशाख २१ गते । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमा गत फागुन ११ गते देखि संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको तालिम समापन भएको छ । 

कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको थियो भने तालिम समापन भएर जाने प्रहरी कर्मचारीहरुलाई वाँहाले प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो । 


तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि सापकोटाले नेपाल प्रहरी संगठनको प्रभावकारी कार्य सम्पादनमा सुचना प्रवाह गरी संगठनको उदेश्य परिपुर्ति गर्न संगठनकै मेरुदण्डको रुपमा रहेको प्रहरी संचार लाई समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढ, सक्षम  तथा जवाफदेही बनाउन प्रहरी संचार सेवा तर्फ उन्नत तालिमहरु संचालन गरिदै आएको बताउनु भयो ।

यसका साथै वँहाले प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरस पालना गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ सफलतापुर्वक सुचना प्रवाह गर्न निर्देशन समेत दिनु भयो । समापन कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

 


विराटनगर |  विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ ।

विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्थ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । मेयर नागेश कोइरालाले नेपाल सरकारले तोकेको सुविधा सम्बन्धित व्यक्तिले मात्रै पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विपन्नका नाममा पहुँचवालाले सेवा लिइरहेको भन्ने गुनासो आइरहेको जानकारी दिनुभयो । संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उहाँले महानगर त्यसप्रति गम्भीर रहेको बताउनुभयो । उहाँले अस्पतालहरुले लक्षित समूहलाई उपलब्ध गराएको सुविधा पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

मेयर कोइरालाले हरेक महिना त्यसको प्रतिवेदन महानगरलाई बुझाउन निर्देशनसमेत दिनुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतसमेतको उपस्थितिमा भएको छलफलमा अस्पताल सञ्चालकहरुले सरकारले तोकेको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता जनाएका थिए । 

निजी अस्पतालहरुको छाता संगठन अफिनका कोशी प्रदेश अध्यक्ष डा. शकर अधिकारीले लक्षित वर्गलाई सुविधा उपलब्ध गराउन तयार भए पनि सबै नागरिकले स्वास्थ्य बिमा गर्नु आवश्यक रहेको औंल्याउनुभयो । उहाँले लक्षित वर्गले पाउनुपर्ने सुविधा हुनेखाने र धनी वर्गले उपभोग गरिरहेको दाबी गर्नुभयो ।

डा. श्यामकुमार रौनियारले अस्पतालमा भर्ना भई उपचार गराउने र डिस्चार्ज हुने बेलामा विपन्न नभएका व्यक्तिहरुलाई सुविधा दिन विभिन्न क्षेत्रबाट दबाब आउने गरेको गुनासो गर्नुभयो । विपन्न पहिचान हुने प्रमाण भएको खण्डमा सुविधा उपलब्ध गराउन सहज हुने उहाँको भनाइ थियो ।

सो क्रममा तथ्यांक अधिकृत दीपक भट्टराई, स्वास्थ्य अधिकृत रमेश कार्की र जनस्वास्थ्य अधिकृत भूपेन्द्र साहले सरकारले तोकेको १० बेड निःशुल्क उपलब्ध गराउनुपर्ने सम्बन्धी ऐन, कानुन, निर्देशिकामा भएका व्यवस्थाहरुका विषयमा जानकारी गराउनु भएको थियो ।  

विराटनगर महानगरपालिकालाई सरकारी र निजी गरी ३० वटा अस्पतालले नियमित विवरण उपलब्ध गराइरहेको स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादवले जानकारी दिनुभयो । ती अस्पतालमा हाल २ हजार ८ सय ५५ बेड रहेको छ

यसैबीच, स्वास्थ्य बिमा बोर्डको परिपत्रअनुसार १ सय बेडको अस्पताले हप्तामा एक दिन, २ सय बेडको अस्पतालले हप्तामा २ दुई र ३ सय बेड र सोभन्दा बढी क्षमता भएका अस्पतालले ३ दिन नजिकको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वहिरंग विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत गरिएको थियो । त्यस्तै केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण हुने लु (तातो हावा) बाट हुने स्वास्थ्य समस्याको आकस्मिक उपचारमा अस्पतालहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.