Websoft University

आयआर्जनको माध्यम बन्दै कबुलियती वन


रामपुर,पाल्पा -साउन १३ गते । रातो तारा डट कम,जिल्लामा कबुलियती वन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
विपन्न वर्गका कृषकको जीवनस्तर सुधार गर्ने उद्देश्यले लागू गरिएको कबुलियती वन कार्यक्रमबाट यहाँका कृषक मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्ला वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपयोगमा ल्याउन नसकिएका वनमा आयमूलक विभिन्न खेती गर्न थालेपछि ग्रामीण भेगका कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

यहाँका कृषकले वनमाराले ढाकेको वनमा अम्रिसो, तेजपात, टिमुर रोपेर आम्दानी गर्न थालेका छन् । संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमअन्तर्गत आव २०६९÷७० देखि झिरुवासमा शुरु गरिएको कबुलियती वन तथा पशु विकास कार्यक्रम प्रभावकारी बनेपछि अहिले जिल्लाको मित्याल, जल्पा, दोभान, ठिमुरेलगायत गाउँका विपन्न वर्गका मानिसलाई प्रयोगमा आउन नसकेको वन क्षेत्रलाई उपयोग गर्न दिएर आयमूलक खेती गरिएको छ ।

प्रयोगमा आउन नसकेको र वनमाराले ढाकेको जमिनलाई जिल्ला वन कार्यालयले समूहमा विभाजन गरी ४० वर्षका लागि व्यवस्थापन र आयमूलक वनस्पति लगाउने गरी स्वामित्व हस्तान्तरण गरेको छ । लामो समयसम्मका लागि कृषकमा स्वामित्व हस्तान्तरण गरेपछि यहाँका कृषक आम्दानीका लागि अम्रिसो, तेजपात, टिमुरजस्ता वनस्पतिलाई व्यवसायीकरण गर्दै अगाडि बढेका हुन् ।

जल्पाका मोहनबहादुर रखाल वनमाराले ढाकेको र त्यसै खेर गएको ४८ हेक्टर वन क्षेत्रलाई उपयोगमा ल्याई अम्रिसो, तेजपात र टिमुरखेती गरिएको बताउनुहुन्छ । कबुलियती वन कार्यक्रम लागू गरेपछि ५६ घरपरिवार अम्रिसोखेती गरेर वार्षिक रु २० हजारदेखि रु २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् । कबुलियती वनमा गत वर्ष एक हजार अम्रिसोको कुचो बिक्री गरेका कृषकको यस वर्ष एक हजार ५०० कुचो उत्पादन गर्ने लक्ष्य छ ।

सहायक वन अधिकृत रामगणेश शाहले पाँच वर्षभित्र ४८ हेक्टर क्षेत्रफलमा आयमूलक खेती गरिने बताउनुभयो । आम्दानीको स्रोत बनेको ग्रामीण क्षेत्रबाट उत्पादित वस्तुको बजारीकरण लागि जिल्ला वन कार्यालयले समन्वय गर्ने उहाँको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.