Websoft University

पदयात्री टोलीलाई इटहरी उपमहानगरपालिकाको अगुवाइमा स्वागत गरियो


इटहरी बैशाख २२ गते । रातो तारा डट कम, जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जागृत गर्ने उद्देश्यले ५० दिनअघि महाकालीको दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा–२०१९’का पदयात्री टोलीलाई इटहरी उपमहानगरपालिका को अगुवाइमा स्वागत गरिएको छ ।  

अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई आइतबार स्वागत गरिएको हो । स्वागत कार्यक्रममा अभियन्ता अशोक दर्नालले आइतबार आफूहरुको अभियान ५० दिन पुगेको बताए । उनले ५० दिनमा इटहरी आइपुग्दा  अभियान सफल हुदै गएको अनुभूति सुनाए। 

जातीय छुवाछुत अन्त्य गर्ने जति कानून बनेपनि चाँदनी दोधाराबाट इटहरीमा आइपुग्दा दलित समुदायमाथिको उत्पीडन जारी रहेको बताए । उनले भने–‘बनेका कानून कार्यान्वयन नहुँदा उत्पीडनले फरक रुप लिएको छ ।’  अभियन्ता दर्नालले बताए अनुसार उनीहरुलाई हालसम्म ८५ स्थानीय तहले सहयोग गरेका छन् । टोलीले ६८ हजार नागरिकहरुसँग दलित समुदायमाथिको विभेद, उत्पीडन गर्ने विषयमा संवाद गरेका छन् । दर्नाले इटहरीमा आइपुग्दा ८६ दलित घरधुरी मा पुगेर भेटघाट गरी उत्पीडनका पीडा सुनेको बताए । 

अर्की अभियन्ता रिता परियारले दलितहरुसँग नागरिकता नै नभएको बताइन् । उनले भनिन्–दलित समुदायसँग नागरिकता नै छैन अनि कसरी अन्य सेवा सुविधा लिने ? उनले थपिन्–अभियानका क्रममा भेटिएका दलित समुदायहरुमा गास, बास र कपासको अभाव भएको पाइयो । गोरखा जिल्लाकी उनले आफू सानो हुँदा धारामा पानी भर्न नपाएको र मन्दिर प्रवेश गर्न नपाएको कुरा स्मरण गरिन् । 

स्वागत कार्यक्रममा अर्का अभियन्ता होमराज आचार्य आकर्षणको पात्र बनेका थिए । किनभने उनी गैर दलित समुदाय (ब्राम्हण समुदाय) बाट दलित मुक्तिका लागि पैदल यात्रामा निस्कीएका थिए । उनले भने–‘छुवाछुतको सवाल केवल दलितहरुको मात्रै हैन, क्षेत्री, बाहुनहरुको पनि हो ।’ २१ औं शताब्दीमा आएर पनि दलितहरुमाथि भेदभाव हुनु अर्धम र पाप हो अभियन्ता आचार्यले भने । उनले राष्ट्र निर्माणमा दलितहरुको रगत पसिना बगेको कुरा स्मरण गरे । उनले मन्दिरका मूर्ति र गजुर बनाउने दलितहरु त्यै मन्दिरभित्र पस्न नपाउनु विडम्बना भएको उनको भनाइ थियो । संघर्ष गर्ने बेलामा अग्र भागमा दलित हुने उपलब्धी पाउने बेलामा पछि पारिने गरिएकोले उत्पीडन जारी रहेको उनले बताए ।

स्वागत कार्यक्रममा संविधानसभा सदस्य अनिता परियार, इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, नेपाल कम्युनिष्ट नेकपा प्रदेश १ सदस्य डिबी शाहशंकर, नेपाली कांग्रेस इटहरी उपमहानगर समिति उपसभापति शिवराज दाहाल, अमर बराइलीलगायतले छुवाछुत प्रथा अन्त्य गर्न बनेका कानून कार्यान्वयन गर्न गराउन अग्रसर हुने बताए । यो अभियान झापाको  काँकडभिट्टा पुगेर समापन हुनेछ । इटहरीबाट शान्ति गजमेर र सहयोग विश्वकर्मा पनि अभियान टोलीसँग पैदल यात्रामा निस्कीएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.