Websoft University
Latest Post


काठमाडौं, साउन २३ गते | राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्। हिजो साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

३१औं विश्व आदिवासी दिवस कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्। अध्यक्ष दाहालले भने, “कृत्रिम बौद्धिकता (एआई) र प्रविधि प्रयोग गरेर आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई जोगाउन र विश्वभर चिनाउन सकिन्छ।

 उदाहरणका लागि, नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा छ – यो नै प्रविधिको सही प्रयोग हो।” उनले यो वर्षको विश्व आदिवासी दिवस आदिवासी समुदायको भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर मनाइँदैछ भन्ने जानकारी पनि दिए। यस्तो कार्यक्रममा सहभागी भएर आदिवासी पहिचानलाई सम्मान दिन सकिन्छ। संयुक्त राष्ट्रसंघले सन् १९९४ मा अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। 

नेपालमा पनि यति बेलादेखि नै यो दिवस मनाउँदै आइएको हो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको बताए। यो अवसरलाई सरकार र सम्बन्धित निकायसमक्ष आवाज पु–याउने मौका पनि भएको बताए। 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार, आदिवासी समुदाय धेरै समयदेखि अधिकारका लागि संघर्ष गरिरहेको छ। उनले भने, “विश्वका ८०% खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित छन्।” राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका ठूलो रहने बताइन्।

 विकासका नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित भइरहेका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिइन्। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनिसकेको र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यही हैसियत दिलाउने प्रयास भइरहेको बताए। 

कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। त्यस्तै, थारु कल्याणकारिणी सभा (थाकस) ले थारु परिकारहरू प्रदर्शन ग¥यो। थारु खानामा घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोलजस्ता परिकार प्रदर्शनमा राखेका थिए। 

थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका परिकार प्रस्तुत गरिएको थियो। साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो। कार्यक्रमलाई प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनले संचालन गरेका थिए ।


विराटनगर सउन २२ गते । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई 'क्रेडिट आवर'को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि अनुसारको डिग्री समेत प्राप्त गर्ने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

विश्वस्तरीय शिक्षा दिँदै सोहि अनुरुपका जनशक्ति उत्पादन गर्नका लागि केयूसँगको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास ब्यक्त गर्दै उहाँले केयूले शिक्षक तथा विद्यार्थीहरुको स्तर र मागका सम्बन्धमा त्यस्तै अभिभावकहरुको चाहना र विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्भेक्षण गर्ने छ । त्यसपछि आवश्यकता आधारमा सोहि अनुसारको तालिम प्रदान गर्ने एभरेष्टले जनाएको छ ।

समझदारी पत्रमा आज एभरेष्टका तर्फबाट प्रिन्सिपल पुरी र केयुका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुईटेलले हस्ताक्षर गर्नुभएको छ । एभरेष्टको शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने मान्यताका साथ यस विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्रका संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

कम्प्यूटर शिक्षाका लागि बेलायतको कोर्ष डिजी स्कुल, आविश्कार तथा अन्वेषणका लागि कारखाना, विद्यार्थीलाई खुसी राख्न ह्याप्पीनेस करिकुलम, माई सेकेण्ड टिचर, रातो बंगला फाउन्डेसनलगायतका संस्थाहरुसँग सहकार्य गर्दै सफल भएका अभ्यासहरूलाई अवलम्बन गर्दै आएको छ ।

केयूसँगको समझदारीसँगै विद्यालयका करिब ६० जना शिक्षकहरुको अध्यापन क्षमतामा थप विकास हुने र उहाँहरुले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्रिन्सिपल पुरीले बताउनुभयो । एभरेष्टले शैक्षिक वातावरणसँगै भौतिक संरचनाहरु समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लगेको छ ।


विराटनगर साउन २१  गते । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताउनुभएको छ ।

कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उहाँले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको उहाँले बताउनुभयो ।

उहाँले विश्वभरका राष्ट्रहरुलाई मित्रवत अवस्थामा राख्दै सबैबिच सहकार्यको भूमिका निर्वाह गराउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा विश्वलाई केन्द्रित भएर साझा समस्याको विषयमा छलफल गरि समाधानको उपाय खोजिने समेत चर्चा गर्नुभयो ।

आज विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको कोशी प्रदेशका युवा विद्यार्थीले उठान गर्ने विषय र दिने सुझावले विश्वको ध्यान खिचोस भन्ने शुभकामना समेत दिनुभयो । उहाँले अहिले भइरहेको शक्ति राष्ट्रहरु बिचको प्रतिष्पर्धा, दुई शक्ति राष्ट्रबिचको नेपालको अवस्था, जलवायु परिवर्तन, मानव अधिकारका क्षेत्रका सवालमा यस अभ्यासमा घनिभूत छलफल गरि सांकेतिक रुपमा नै भएपनि महत्वपूर्ण सुझाव दिन सकोस् भन्ने कामना गर्नुभयो ।

यो सँगै विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा आज देखि संयुक्त राष्ट्रसंघको महासभाको तीन दिने नमूना अभ्यास शुरु भएको छ । यस्तै उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका विद्यालयका प्रीन्सीपल टिकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्बन्ध, नियमहरुका विषयमा जानकार बनाउने लगायतका उद्देश्य रहेको बताउनुभयो ।

ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको तीन दिवसीय कार्यक्रममा आज पहिलो दिन संयुक्त राष्ट्रसंघको महासभामा पालना गर्नुपर्ने नियम तथा आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको छ । नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका ३३ जना विद्यार्थीहरु विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि छन् ।

उनीहरुले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवर्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेण्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.