काठमाण्डौ । रातो तारा डट कम,नेपालले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्धको घरेलु खेल देशबाहिरै खेल्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभएको एसियाली फुटबल महासंघ (एएफसी) ले ठहर गरेपछि नेपालले घरेलु खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको हो ।
रंगशालामा आगामी मंसिर ३ गते नेपाल र कुवेतबीच फुटबल खेल तालिका थियो । २०७२ बैशाख १२ पछि दशरथ रंगशालामा पहिलोपल्ट खेल आयोजना हुँदै थियो । खेलको पूर्व तयारीअनुसार शुक्रबार रंगशालाको फ्लडलाइट परीक्षण पनि गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभइसकेकोले कुवेतविरुद्धको खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको जनाएको छ ।
एएफसीका प्रतियोगिता समितिका देङ सिओ लोङले मंगलबार दिउँसो आएर दशरथ रंगशालाको निरीक्षण गर्नुभएको थियो । उहाँकै प्रतिवेदन अनुसार एन्फालाई नेपालको ‘होम म्याच’ तटस्थ भूमिमा खेल्न एएफसीले निर्देशन दिएको हो । छनौट उक्त खेल नेपालले भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा सञ्चालन गर्नका लािग फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ । यस्तै, समयमा नै रंगशाला पुनःनिर्माणहुन नसकेको भन्दै क्षमायाचना मागेको छ ।
Post a Comment