
काठमाडौं, जेठ २५ गते । रातो तारा डट कम,नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले प्रहरी अधिकारीहरुलाई वक्तव्यबाजी गर्न रअनावश्यक अन्तरवार्ता दिँदै हिँड्न रोक लगाउने बताएका छन् । साथै उनले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई ‘जनताले चाहेको जस्तो’ बनाउने प्रतिवद्धता पनि जनाएका छन् ।
उनले अघि भने, ‘पत्रिकाबाजी गर्ने, वक्तव्य दिने वा अनावश्यक अन्तरवार्ता दिँदै हिँड्ने कुरा बन्द गरिनेछ ।’बुधबार पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री शर्माले भने, ‘सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनर्संरचना गरिनेछ ।’
सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ सुदृढ गरिने तथा जनता र सिपाहीबाट हुने मूल्यांकनलाई सही मानिने उनले बताए । साथै उनले केही दिनमा नै आफ्नो नयाँ योजना ल्याउने बताए।
नवनियुक्त गृहमन्त्री शर्माले स्थानीय तहको दोस्रो चरणको चुनाव पहिलो चरण भन्दा पनि प्रभावकारी, भरसहित र निश्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
आफूलाई गृह मन्त्रालयको अनुभव नभएको र सुरक्षा निकायका धेरै कुराको ज्ञान नभएको भन्दै पूर्व माओवादी लडाकूका डेपुटी कमाण्डर समेत रहेका शर्माले भने, ‘तपाईहरुबाट सिकेर आवश्यकता पूर्ति गर्ने गरी गृह मन्त्रालयले जनतालाई सेवा र सुरक्षाका सन्दर्भमा ढुक्क भएर अघि बढ्ने अवस्था बनाइनेछ ।’
Post a Comment