काठमाण्डौ पुस ६ गते । रातो तारा डट कम प्रदेश दुइका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले बन्द रहेको रौतहटको श्रीराम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नैपर्ने बताउनुभएको छ । किसानको करोडौ रकम भुक्तानी गर्न बक्यौता राखेर उद्योगपति हितेश गोल्छाले विभिन्न बाहाना झिकेर श्रीराम सुगर मिल यस वर्ष सञ्चालन गर्न अहिलेसम्म कुनै चासो नदेखाएकोप्रति कृषि राज्यमन्त्री यादवले कडा आपत्ती जनाउनुभएको हो ।
उखु उत्पादक संघ रौतहटले आज आयोजना गरेको किसान जन जागरण अभियान अन्तर्गत मिल बचाउ कार्यक्रमलाई सम्बोधन गर्दै किसान र उद्योगीबिच रहेको समस्या समाधान गर्नका लागि गठित समितिका संयोजक समेत रहनुभएका कृषि राज्यमन्त्री यादवले उद्योगीलाई जसरी भएपनि किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने र मिल पनि सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
मिल सञ्चालनको लागि उद्योगीलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मन्त्री यादवले कुनै पनि हालतमा मिल बन्द गर्न नहुने बताउनुभयो । प्रदेश दुइका अधिकांश उद्योगी किसानको बक्यौता रकम भुक्तान नगरी त्यस रकमबाट अन्य उद्योग धन्दा खोलेर व्यवसाय गर्ने गरेको र किसानलाई मिल घाटामा गयो भन्ने नाटक गरेर वर्षौसम्म भुक्तानी नदिएर किसानलाई ठग्दै आएको मन्त्री यादवले बताउनुभयो ।
Post a Comment