काठमाण्डौ मंसिर २६ गते । रातो तारा डट कम, सरकारले चेतनाको कमीका कारण उपभोक्ता ठगिने गरेको दाबी गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यस्तो बताउनुभएको हो । उपभोक्ताले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगीको क्रम बढेको उहाँको भनाइ छ । उहाँले उपभोक्ता हितका लागि बनेको संगठनको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताउनुभयो । बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उहाँले अहिलेपनि मध्यमवर्गीय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताउनुभयो । ठगी गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगी गर्ने क्रम नरोकिएको उहाँले बताउनुभयो । उपभोक्ताको हक संरक्षणका लागि पहिले आफूबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । अन्तरक्रियामा अन्य सहभागीले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखेका थिए ।
Post a Comment