बिराटनगर २०८३ भदौ ३१ गते । उद्योग तथा व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर पहिचान गर्न सक्षम बनाउने उद्देश्यले उद्योग संगठन मोरङद्वारा सञ्चालित बिजनेस एट स्कुल कार्यक्रमको चौथो श्रृंखला गोग्राहा माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न भएको छ ।
इन्स्योर परियोजनाले प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीलाई उद्योग, प्रविधि, सीप, रोजगारी तथा उद्यमशीलतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।
कार्यक्रम अन्तर्गत मनमोहन पोलिटेक्निकले ‘इन्टरनेट अफ थिङ्स, ज्ञान अटोमेशनले ‘इन्डस्ट्रियल अटोमेशन’ तथा शीर्षक इन्टरप्राइजेजले ‘सिसिटिभि क्यामेरा सेटअप’ सम्बन्धी विषयमा ‘टेस्ट द ट्रेनिङ’ कार्यक्रम सञ्चालन गरेका थिए । यसका साथै विद्यार्थीका लागि करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, सफल व्यक्तित्वहरूसँग अनुभव आदान प्रदान लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।
यसपटक कार्यक्रमलाई थप प्रविधिमैत्री बनाउँदै विद्यार्थीका लागि भर्चुअल रियालिटी प्रविधि मार्फत भर्चुअल उद्योग भ्रमणको व्यवस्था समेत गरिएको थियो । विद्यार्थीले उद्योग तथा कार्यस्थलको वास्तविक वातावरण बारे प्रविधिको माध्यमबाट अनुभव गर्ने अवसर पाएका थिए । साथै, करियर काउन्सेलिङ पछि विद्यार्थीले आफ्नो नतिजा अनलाइन माध्यमबाट हेर्न सक्ने व्यवस्था समेत गरिएको संगठनले जनाएको छ ।
कार्यक्रममा गोग्राहा माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदु खतिवडाले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको करियरबारे बुझ्ने तथा सिक्ने महत्वपूर्ण अवसर कार्यक्रमले प्रदान गरेको बताउनु भयो ।
उद्योग संगठन मोरङले विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि, सीप, रोजगारी र उद्यमशीलतासँग जोड्दै भविष्यको करियर छनोटमा सहयोग पु¥याउन बिजनेस एट स्कुल कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Post a Comment