Websoft University

महासंघको ६४ औं स्थापनाको उपलक्ष्यमा सभापतिले दिए शुभकामना


काठमाडौ चैत १५ गते । रातो तारा डट कम,नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७५ चैत १६ गते आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व गर्दछ । आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

यतिवेला नेपाली सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरिरहेका छन् । यस अवस्थामा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी छ । यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्नसमेत म महासंघको तर्फबाट नेपाली मिडिया जगत् र आम सञ्चारकर्मीहरूमा हार्दिक अपिल गर्दछु ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री संचार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउन चाहन्छु । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संचार माध्यमलाई संचार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक संचार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउदछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु । 

साथै, स्थापना दिवसका अवसरमा चैत्र १४ गतेदेखि नै महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको दिन चैत्र १६ गते महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउसो १२ः०० बजे विशेष समारोहको आयोजना गरेको छ । सोही कार्यक्रममा महासंघका पूर्वउपसभापति, उपाध्यक्ष र महासचिव ज्यूहरूलाई सम्मान गरिने छ । यसैगरी नेपाल पत्रकार महासंघ कास्की र सुनसरी शाखालाई समेत सम्मान गरिने छ । स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फूटसल प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिने छ ।

यस अवसरमा महासंघका सबै शाखा र एशोसिएट संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको जानकारी गराउँदै सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आमन्त्रण गर्दछु महासंका अध्यक्ष गोबिन्द आचार्य भन्नुभएको छ ।

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.