Websoft University

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति


 काठमाण्र्डौ,असोज ९ गते । रातो तारा डट कम,पशुपतिनगर,इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए ।

सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि सरकारले स्वीकृत दिएको हो ।

जिल्ला सुरक्षा समितिले इलामको नेपाल भारत सीमा क्षेत्रका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बीसे र सन्दकपुर क्षेत्रमा सीमा सुरक्षा बलको टोली राख्ने स्वीकृत मागेको थियो । सुरक्षा समितिको सिफारिशका आधारमा सरकारले पहिलो चरणमा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृति दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।

तीन हप्ताअघि नै सुरक्षा पोष्ट राख्ने स्वीकृति दिएकाले सुरक्षा फौज बस्ने स्थानको खोजी भइरहेको तिमिल्सिनाले बताउनुभयो । सीमा सुरक्षा पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा ३७ जनाको टोली रहने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलामका प्रमुख विदुर खड्काले बताउनुभयो । जिल्ला सुरक्षा समितिले सुरक्षा पोष्ट राख्नका लागि पशुपतिनगर भन्सार कार्यालयको पुरानो भवनको माग गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ तिमिल्सिनाले सरकारबाट स्वीृकति आउनेबित्तिकै बाँकी तीन स्थानमा पनि सीमा सुरक्षा पोष्ट राखिने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ को स्थापना इलाममा भएपछि पर्याप्त मात्रामा सुरक्षा फौजको जनशक्ति रहेकाले स्वीकृति पाउनबित्तिकै सीमा सुरक्षा पोष्ट स्थापना गरिने जिल्ला सुरक्षा समितिको योजना छ ।

एक महिनाअघि ६२१ दरबन्दी रहेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा स्थापना भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.