Websoft University

इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

काठमाडौँ,साउन १५ गते । रातो तारा डट कम, मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा १४ गते आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गर्नुभयो ।

सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताउनुभयो । मुलुकबाट बालश्रम निवारणको सन्दर्भमा यस घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने उहाँले बताउनुभयो ।

देशभरका इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणसँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बालश्रम उन्मूलन गरिने उहाँको भनाइ थियो ।

इँटा उद्योगबाट बालश्रममुक्त घोषणा गरिनु अत्यन्त महत्वपूर्ण र बालश्रममुक्त देश घोषणा गर्न कोशेढुंगा सावित भएको उल्लेख गर्दै मन्त्री विष्टले भन्नुभयो, “यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण र सम्मानयोग्य छ, सम्मानित देश, सभ्य देश, कलंकरहित देश घोषणा गर्न कोशेढुंगा सावित हुनेछ ।”

नेपाललाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धतामात्र नभई बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी उनीहरुलाई विद्यालयसम्म पु¥याउन सरकार गम्भीर रहेको बताउनुभयो । अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरुलाई विद्यालयको पुहँचमा पु¥याउन विशेष ध्यान दिइने बताउनुभयो ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ९२०७५–२०८५० लागू गरिएको बताउनुभयो ।

विसं २०७९ सम्ममा अमर्या्दित र शोषणयुक्त तथा २०८२ सम्ममा सबै किसिमको बालश्रम निवारण गरिने बताउँदै उहाँले बालश्रममुक्त राष्ट्रका रुपमा नेपाललाई स्थापित गराउन सरकारका विषयगत निकाय, प्रदेश र स्थानीय तह, गैरसरकारी क्षेत्र र सामाजिक संघसंस्थाको सहयोगको खाँचो औँल्याउनुभयो ।

उहाँले चालू आवभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताउनुभयो ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाको राष्ट्रिय लक्ष्य समयमै हासिल गर्न मुलुकभरको सबै इँटा व्यवसायीको तर्फबाट कुनै पनि इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग नगरिने सार्वजनिक घोषणा गर्नुभयो । इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।

कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै प्रकृतिका जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्था छ ।

हाल मुलुकमा करीब एक हजार १०० इँटा उद्योग सञ्चालनमा रहका छन् भने काठमाडौँ उपत्यकाभित्र ११० उद्योग रहेका छन् । ती इँटा उद्योगमा करीब तीन लाख मजदुर कार्यरत रहेका बताइएको छ । कार्यक्रममा नेपालभरका इँटा व्यवसायीका प्रतिनिधिले आजैका दिनदेखि इँटा उद्योगमा बालश्रम उन्मूलन भएको सार्वजनिक घोषणा गरेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.