Websoft University

मोरङ मिक्लाजुङका बाढीपीडितलाई छोएन दशैँले

उर्लाबारी,असोज १३ गते । रातो तारा डट कम, मोरङको मिक्लाजुङ–६ की नरमाया अधिकारी विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनभित्र टहरा बनाएर बस्दै आउनुभएको छ ।

नरमायामात्र हैन नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् । नरमायाले गहभरि आँसु झार्दै भन्नुभयो, “दशँै लाग्यो, छोराछोरी नातिनातिना हामीलाई लुगा खोई ? भन्दै रुन्छन्, मिठोमिठो चिज चाइयो भन्छन्, हामीले कहाँबाट ल्याउने, कहाँबाट खुवाउने ?” बस्ने ठाउँको टुंगो नहुँदा दशैँको जमरासमेत राख्न नसकेको नरमायाले सुनाउनुभयो ।

नेपालीको महान चाड वडादशैँको माहोल सबैतिर छाइरहँदा बक्राहा पीडित ती परिवारलाई दशैँ र तिहारको भन्दा पनि बासस्थानकै चिन्ता छ । सो ठाउँमा नरमाया जस्तै दुई दर्जन घरपरिवारको दुःख र पीडा उस्तै छ ।

बक्राहा खोलाले जमिनसँगै घरसमेत बगाएपछि सो वडाका दुई दर्जन घर परिवार विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका छन् । नेपालीको महान् चाड दशैँको सबैतिर रमझम छाइरहँदा सो टहरामा बस्दै आउनुभएका मानबहादुर गोलेले भने दशैँको उत्साह नभएको बताउनुभयो ।

खोलाले घर बगाइहाल्यो गोलेले भन्नुभयो, “मनभरि पीडा बोकेर दशैँ मनाउन के मन लाग्ला र ?” बक्राहामा गत वर्ष आएको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ भने दुई दर्जन परिवारलाई जंगलको बास बनाइदिएको छ ।

बाढीले घर डुबायो, दिनरात छाडा पशु र जंगली जनावरको त्रास बोकेर ज्यान जोगाउन ती परिवार जंगलमा बसेका छन् । तर पनि दशैँ जस्तो चाडमा ऋण खोजेर भए पनि मनाउने धोको छ, कमानसिंह चौलागाईंको । उहाँले भन्नुभयो, “ऋण काडेर भएपनि पर गाउँमा तीन केजी मासु खोजेको छु, दुईजना ज्वाइँ आउनुहुन्छ, उहाँहरुलाई निधारमा टीका र कानमा जमरा त लगाइदिनै प¥यो ।”

सोही ठाउँमा टहरा बनाएर बस्दै आउनुभएकी प्रितिमाया गोले भने यस वर्ष अरुले दिएको पुरानै कपडा लगाएर भएपनि दशैँ कटाउने योजना रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ लुगा त पैसा भए पो लाउनु, अरुले दिएको पुरानो कपडा लगाउनुपर्ला जस्तो छ ।”

सो गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस वर्षको दशैँमा बाढीबाट विस्थापित भएकाका लागि सहयोग गर्न नसकिएको बताउनुभयो । दैवीप्रकोप उद्धार समिति, मोरङमा बजेट माग गरिए पनि उपलब्ध हुन नसकेका कारण बाढीबाट विस्थापितलाई दशैँ जस्तो चाडपर्वमा समेत सहयोग गर्न नसकेको उहाँले बताउनुभयो ।

नुनसरी बक्राहा खोला बस्तीको सतहभन्दा अग्लो बनेको छ । चुरे क्षेत्रबाट बगाएर ल्याएको लेदो, ढुंगा, गिट्टीका कारण खोलाको भाग अग्लो भई बस्ती बगाएको हो । खोलाको भाग बस्तीको भन्दा समग्रमा डेढ मिटर अग्लो छ । गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न सकेमात्र बाढी नियन्त्रणमा आउने देखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.