Websoft University

कर्मचारी समायोजन ऐन संशोधन गर्नुपर्ने ः अध्यक्ष ओली

काठमाडौ,साउन १६ गते । रातो तारा डट कम,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी समायोजन गर्न ल्याइएको ऐन अपर्याप्त भएकोले संशोधन गरेरमात्र ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले  हिजो यहाँ शहीद मनोज–झपेन्द्र स्मृति दिवसका अवसरमा ‘संघीयतामा कर्मचारी समायोजन र संघीय निजामति ऐन’ विषयको विचार गोष्ठीमा उहाँले समायोजन ऐन कर्मचारीमैत्री नभएकाले संसद्बाट सच्याउने बताउनुभयो । उहाँले कर्मचारी समायोजन गर्न ल्याइएको ऐन कर्मचारीलाई मर्का नपर्ने खालको ल्याउनुपर्ने बताउनुभयो ।

“समायोजन भएको ३५ दिनभित्र तोकिएको ठाउँमा जानुपर्ने, कर्मचारीको ट्रेड युनियनको अधिकार जस्तालगायत विषय राखिएको छैन”–उहाँले भन्नुभयो, “यी कुरा व्यवहारिक छैनन्, त्यसैले ऐन धेरै हिसाबले उपयुक्त छैन । सच्याएर मात्र ऐन ल्याउनु पर्दछ ।” उहाँले प्रदेशको संरचना नै नबनेकाले कर्मचारीको समायोजन नहुँने भन्दै सरकारलाई हतारमा समायोजन प्रक्रिया नगर्न आग्रह गर्नु भयो ।

ओलीले राष्ट्रले खटाएको ठाउँमा कर्मचारी जानुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले ऐन संसद्मा विचाराधीन रहेकाले छलफल र अध्ययन गरेर मात्र पारित गर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले एमालेका विरुद्ध केहीले नक्कली कुरा गरेर विरोध गरेको आरोप लगाउनुभयो । उहाँले एकताबद्ध राष्ट्र र समृद्धिको योजना बनाई देशलाई अगाडि बढाउन सबै राजनीतिक दल एक भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन चुनौतीपूर्ण रहेको भन्दै समायोजन गर्दा कर्मचारीमा केही समस्या देखिए पनि समाधान गरेर जानुपर्ने बताउनुभयो । “कर्मचारी समायोजन गर्दा कर्मचारीलाई अलिकति कठिनाइ हुन्छ । त्यो व्यहोर्नुपर्दछ”–उहाँले भन्नुभयो, “समायोजन गर्दा दया, माया, सहानुभूति हुदैन । समायोजनअनुसार खटाएको ठाउँमा जानुपर्दछ ।”

उहाँले लामो समयदेखिको कर्मचारीतन्त्रलाई परिवर्तन गर्ने प्रयासमा आफू रहेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रमा गरिखाने र बसी खाने प्रवृत्ति रहेको उल्लेख गर्दै बसी खाने कर्मचारीलाई निमिट्यान्न पार्ने कामको सुरुवात गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै कर्मचारीलाई समस्या नपर्ने गरी समायोजन गरिनुपर्ने धारणा राख्नुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारी समायोजन गर्दा युनियनसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.