Websoft University

जाली नोटको जालो

'काठमाडौँ, जेष्ठ १२ गते । हामी ठगियौं सर ।'

बैशाख २६ दिउसो २ भारतीय नागरिक पिल्पिलाउंदै महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख विश्वमणि पोखरेलको कार्यकक्षमा पुगे । 
'के भयो ? '
पोखरेलको प्रश्नसंगै पकेटबाट भारतीय रुपैंया निकाल्दै दुबैले भने, 'घर जान पैसा साटेको सर, डुबियो ।'
काठमाडौंमा साइकलमा तरकारी र फलफुलको व्यापार गर्दै आएका दुबै भारतीय नागरिकले शिक्षण अस्पताल महाराजगञ्ज अगाडि २ जना नेपालीसंग नेपाली रुपैंया साटेर भारतीय रुपैंया लिएका थिए । केही खस्रो देखेपछी उनीहरु सहायता खोज्दै प्रहरी कार्यालय पुगेका थिए । 
पोखरेलले उनीहरुको साथमा रहेको ३२ हजार ५ सय भारतीय रुपैंयाको नोट छांमे, केही बाक्लो लाग्यो । कुराकानीकैक्रममा जसले नेपाली रुपैंया लिएर उनीहरुले अरु पैसा चाहिए भन्नु भनेर गएको खुलेपछी प्रहरीले उनीहरुलाई फोन गर्न लगाएर ३ लाख भारु मगाए । 

सोही दिन बेलुका भारु बोकेर भारतीय नागरिकसंग साट्न आएका २ जनालाई सादा पोशाकमा रहेका बृत्तका प्रहरी टोलीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका ब्यक्ति थिए दोलखाकी मिरा जिरेल र कपनका सुमन मल्ल । 

यी दुबैको पक्राउपछी अनुसन्धानमा अन्तरदेशिय अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरीको विशेष ब्युरो जोडियो । काठमाडौं परिसर र ब्युरोको टोलीले मल्ल र जिरेलसंग जोडिएको जालो पच्छ्याउंदै जाली नोटको कारोवारमा संलग्न पाकिस्तानी, भारतीय र नेपाली गरी ७ जना पक्राउ परे । 
'मल्ल र जिरेलको पक्राउपछी अन्य नाम समेत खुल्यो ’ डिएसपी पोखरेलले भने, 'पोलिएको नाम पच्छ्याउंदै जांदा भारतीय र पाकिस्तानी नागरिकसम्म पक्राउ परे ।’
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाका अनुसार जाली भारुको कारोवारमा संलग्न रहेको भन्दै सोही दिन धुम्बाराहीका तारणीप्रसाद ठाकुर, २९ गते सिराहाबाट बैजनाथ गुप्ता र काठमाडौंमा विजय शर्मा, ३० गते सनद प्रधान र जेठ ५ मा अमृतमान श्रेष्ठ पक्राउ परे । 
पक्राउ परेकामध्ये गुप्ता भारत विहारका हुन् अन्य सबै नेपाली । प्रहरी विवरण अनुसार उनीहरुको साथबाट २८ लाख ८८ हजार भारु फेला पर्यो जो सबै नक्कली थिए । 

अनुसन्धानमा जाली भारु लिएर पाकिस्तानी नागरिक दोहाहुंदै काठमाडौं आउनेक्रमा रहेको सुराकपछी विशेष ब्युरोले जेठ ८ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटमा समा नाजलाई पक्राउ गर्यो । उनको साथबाट ३६ लाख भारुसंगै १९ हजार ५ सय अमेरिकी डलर समेत फेला पर्यो । विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीका अनुसार यी दुबै नक्कली हुन् ।
प्रहरी विवरण अनुसार समा यसअगाडि मार्च ६ मा ४० लाख, २६ मार्चमा ३० लाख जाली भारुसहित नेपाल आएर पाकिस्तान फर्किएकी थिइन् । उनी यस अगाडि पाकिस्तानी नागरिक साजिद अलीसंगै आएकी थिइन् । अली भने अहिले फरार छन् ।
३० हजार सक्कलीमा १ लाख नक्कली
भारत बिहारका बैजनाथ भारतहुंदै नेपालमा हेरोइन भित्र्याउने कारोवारी रहेको प्रहरीको भनाइ छ । कारोवारकाक्रममा उनी २०५२ मा पक्राउ परेसंगै अभियोग पुष्टी भयो र १५ वर्षका लागी जेलमा पुगेका उनी २०६७ मा कारागारमुक्तहुंदा जाली भारुको सदस्य भइसकेका थिए । कारागारमुक्त भएसंगै उनी नेपाली नागरिकको समुह बनाएर पाकिस्तानहुंदै जाली भारु नेपाल भित्र्याउन सक्रिय भए । 
काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार केन्द्रीय कारागारमा रहंदा उनको भेट जाली भारुको कारोवारीको अभियोगमा पक्राउ परेका अब्दुल बहावसंग भएको थियो । अब्दुल २०६५ मा जाली भारु सहित पक्राउ परेका थिए । 

बैजनाथ कारागारमुक्त भएको २ वर्षपछी बहाव पनि मुक्त भए । उनी पाकिस्तान फर्किएर जाली भारु कारोबारमा कहलिएका हाजी तलादसंग बैजनाथको सम्पर्क गराइदिए । 

प्रहरीका अनुसार काठमाडौंको धुम्बाराही बस्ने सप्तरीका तारणी र कालोपुलका विजयलाई बैजनाथले मुख्य सहयोगी बनाए । तारणीले आफ्नो घरमा काम गर्ने जिरेल र मल्लमार्फत जाली भारु बजारमा पठाउन लगाए । विजयले कालोपुलका अमृतमानलाई सहयोगी बनाए । कारोवारवापतको रकम पाकिस्तान पठाउन उनलाई सनदले सघाउंथे ।

प्रहरी अनुसन्धानमा खुले अनुसार बैजनाथले पाकिस्तानबाट ३० हजार सक्कली भारु दिएर एक लाख नक्कली भारु भित्र्याउने गरेका थिए । उनले तारणी र अमृतमान ५० हजार सक्कली भारु लिएर सहयोगीलाई १ लाख नक्कली भारु दिन्थे । उनीहरुले सहयोगीमार्फत सो रकम बजार मुल्य अनुसार नै बजारमा फैलाउंथे ।
'हाजीसंगको सम्पर्कपछी उनले पाकिस्तानबाट नेपालमा जाली भारु पठाउने र उनले भारु लिएर सहयोगी मार्फत बजारमा पठाउने गरेको अनुसन्धानमा खुलेको छ’, एसएसपी थापाले भने ' उनीहरुको मुख्य टार्गेट नेपालमा काम गर्ने भारतीय नागरिकनै देखिन्छ ।’
अमेरिकी डलर पनि जाली
भारतीय बजारलाई लक्षित गरेर पाकिस्तानहुंदै नेपालमा जाली भारु भित्रिने गरेका छन् । आपराधिक समुहले नेपाली रुपैंया समेत नक्कली बनाएर बजारमा चलाउने प्रयास गर्ने गरेका छन् । २०६६ यता १६ लाख बढी जाली नेपाली रुपैंया फेला परे पनि ती फोटोकपी भएकाले सहजै पक्राउ पर्ने गरेका छन् ।

बेलाबखत चिनिया युआनसंगै अमेरिकी डलर समेत फेला परे पनि यी प्रेसमा नछपाई फोटोकपी गरिएकाले सहजै पहिचान हुने गरेका थिए । बैजनाथ समुहको पक्राउपछि भने नेपाली बजारमा सक्कली बराबर गुणस्तर रहेको प्रेसमा छापिएको जाली अमेरिकी डलर समेत भित्रिएको खुलेको छ ।

प्रहरीका अनुसार समासंग फेला परेको जाली अमेरिकी डलर नेपालमा फेला परेको जाली डलरको परिमाणमा सबैभन्दा धेरै हो । यस अगाडि फोटोकपी गरिएको डलर फेला पर्ने गरेको थियो । 
डिआइजी भन्डारीका अनुसार जाली भारु नेपालमा काम गर्ने भारतीय मार्फत भारत पठाउने योजना अनुसार नेपाल भित्रिएको देखिए पनि जाली अमेरिकी डलर नेपाली बजार लक्षित हो । 

सोही समुहले यस अगाडि पनि जाली अमेरिकी डलर नेपाल भित्र्याएर परिक्षणका रुपमा बजारमा पठाएको र सो सहजै चलेपछी उनीहरुले थप रकम मगाएका थिए । उनले नेपाली बजारमा जाली भारुसंगै अमेरिकी डलर समेत छरिएको बताए पनि परिमाण भने खुलाउन चाहेनन् । 

'जाली भारतीय रुपैंया मगाउनेले नमुनाको रुपमा केही अमेरिकी डलर नेपाल भित्र्याएर बजारमा परिक्षण गरेको देखियो', भन्डारीले भने 'बजारमा जाली अमेरिकी डलर सहजै स्विकार्य भएको देखेपछी ठुलो परिमाण मगाएको देखिन्छ ।'

  • कान्तिपुर पोस्ट बाट 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.